close

बल्ल पूरा हुने भाे पञ्चायतकालीन माग

बल्ल पूरा हुने भाे पञ्चायतकालीन माग

Trulli
ADVERTISEMENT

तनहुँ - मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका- २ एक्लेखेत र पोखरा महानगरपालिका- ३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल बनाइदिन स्थानीयवासीले पंचायतकालदेखि नै माग गर्दै आएका थिए । तर, त्यो माग कहिल्यै पूरा भएन ।


पंचायतपछि पनि विभिन्न शासन व्यवस्था फेरिए । अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको छ । तीन तहका सरकार छन् । पंचायतकालमै मसिना खोलामा झोलुङ्गे पुल बनाइदिन स्थानीयले गरेको माग बल्ल आएर प्रदेश सरकारले पूरा गरिदिन तत्परता देखाएको छ । 


गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत बन्ने मसिना खोला झोलुङ्गे पुलको बुधबार गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शिलान्यास गरिन् । उनले सरकारले पूर्वाधार विकासलाई जोड दिइरहेको बताइन् ।  


‘आवश्यकताअनुसार पूर्वाधार विकासमा सरकार लागिपरेको छ । पूर्वाधार खडा हुँदैमा मात्र समृद्धि हासिल हुँदैन । जनताले चाहिँ उर्वर भुमिलाई प्रयोग गरेर कृषि उत्पादनलाई जोड दिन आवश्यक छ’, उनले भनिन् । 


एउटै निर्माण व्यवसायीलाई धेरैतिरको विकास निर्माणको जिम्मा लागउने प्रवृत्तिले काममा ढिलासुस्ती हुने उनी बताउँछिन् । धेरैतिर ठेक्का लिएका निर्माण व्यवसायीले समयमै काम गरे कि गरेनन् भनेर राज्यले नियमन गर्नुपर्ने उनको धारणा छ । 


पूर्वमन्त्रीसमेत रहेकी कोइरालाले समयमै काम सक्न निर्माण कम्पनीसँगै स्थानीय उपभोक्ताले सक्रियता देखाउनुपर्ने सुझाव दिइन् । 


शुक्लागण्डकी नगरपालिका- २ का वडा अध्यक्ष जगतबहादुर गुरुङले पंचायतकालदेखि पुल माग गर्दै आएकामा बल्ल माग पूरा हुन लागेको बताए । ‘यहाँ पुल बनाउन पंचायतमा पनि हामीले माग गरेका थियौँ । यत्रो लामो समयपछि अहिले पूरा हुँदै छ’, उनले भने, ‘काममा वहनाबाजी नहोस् । सम्झौता भएको अवधिभित्रै गुणस्तरीय काम भएको हेर्न चाहन्छौँ ।’


उक्त झोलुङ्गे पुल आगामी असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी परिष्कार निर्माण सेवा नुवाकोटले ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । १३ लाख १३ हजार आठ रुपैयाँ (भ्याटबाहेकमा) ठेक्का दिएको उनले जनाए । ४४ मिटर लामो पुलको चौडाइ एक मिटर हुनेछ ।