close

बैतडीका अस्पतालले पाएनन् डाक्टर 

बैतडीका अस्पतालले पाएनन् डाक्टर 

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीका स्थानीय तहहरूलाई कोरोना अस्थायी अस्पताल सञ्चालनका लागि डाक्टर पाउन मुस्किल भएको छ ।हालसम्म जिल्लाको पुर्चौडी नगरपालिकाले मात्रै डाक्टर पाएपछि अस्थायी अस्पताल सञ्चालन गरेको छ । अन्य आठ पालिकाले डाक्टर नभएपछि  अस्पताल नै सञ्चालन गर्न सकेका छैनन् ।

 

जिल्ला अस्पताल रहेको दशरथचन्द नगरपालिकाबाहेक अन्य ९ स्थानीय तहमा कोरोना अस्थायी अस्पताल सञ्चालनका लागि संघीय सरकारले बजेट पठाइसके पनि स्थानीय तहले डाक्टर नहुँदा निर्माण नै सुरु गरेका छैनन् । 

 

‘कोरोना अस्थायी अस्पतालका लागि भौतिक संरचना बनाउँदा नै  कर्मचारी पनि मागेका थियौं । अन्य कर्मचारी पाइयो तर डाक्टरका लागि आवेदनै परेन’, शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले भने ।

 

तीन पटकसम्म सूचना जारी गर्दा पनि अहिलेसम्म डाक्टर नपाएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए । ‘डाक्टरका लागि तोकिएभन्दा अतिरिक्त सुविधा दिने गरी सूचना जारी गर्दा पनि कसैको आवेदन परेन । डाक्टरै नभएपछि अस्पताल कसरी चलाउने ?’ धामीले भने ।

 

पाटन नगरपालिकाले पनि तोकिएभन्दा अतिरिक्त सेवा-सुविधा दिने गरी डाक्टर माग्दासमेत नपाइएको जनाएको छ ।  पुर्चौडीजस्तै तोकिएको तलबभन्दा थप ५० हजार रकम दिने गरी डाक्टरको आवेदन माग गर्दासमेत कसैले नभरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । 

 

दोगडाकेदार गाउँपालिकाले तोकिएभन्दा थप सुविधा दिने गरी डाक्टर नियुक्त गर्न लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रसिंह धामीले जानकारी दिए  । जिल्लाको पुर्चौडीबाहेक अन्य पालिकाहरूले कोरोना अस्थायी अस्पताल सञ्चालन नगरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।