close

गाउँको सुरक्षाका लागि निःशुल्क जग्गा 

गाउँको सुरक्षाका लागि निःशुल्क जग्गा 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी भवन निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भवन निर्माण गर्न लागिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । उनका अनुसार १० कोठे कार्यालय ब्यारेक, २ कोठे भान्छाघर, शौचालय र स्नानगृहसहित तीन ब्लकमा भवन बन्नेछ ।

 

भवन निर्माणका लागि प्रदेश सरकारले एक करोड ८७ लाख ६२ हजार आठ सय ४६ रुपैयाँ विनियोजन गरेको थियो । एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित शिवाको जयलक्ष्मी जेभीले भवन निर्माणको ठेक्का लिएको छ । निर्माण कम्पनीले भवन निर्माणका लागि जग खन्ने र सामग्री जुटाउनेलगायत प्रारम्भिक चरणको काम गरेको छ । 

 

भवन निर्माण गर्न मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठु खत्रीले संयुक्त रुपमा तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । जग्गा व्यवस्थापनमा गाउँपालिकाले समन्वय गरेको थियो । 

 

भवन निर्माणपछि मौवाफाँटमा प्रहरी चौकी स्थापना गरिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । हाल भगवती प्रहरी चौकीले मौवाफाँटको समेत सुरक्षा व्यवस्थापन गरेको छ ।

 

‘सबै पालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने नीतिअनुसार मौवाफाँटमा चौकी बनाउनका लागि बजेट व्यवस्थापन गरिएको हो’, गण्डकी प्रदेश म्याग्दी क्षेत्र ‘क’ बाट निर्वाचित सांसद विनोद केसीले भने । 

 

म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १६ प्रहरी युुनिट छन् । घोरेपानी, घार, भुरुंग तातोपानी, दाना, तिप्ल्याङ, भगवति, गलेश्वर, पाखापानी, कालीपुल, रत्नेचौर, मंगलाघाट, सिंगा तातोपानी, बाबियाचौर, दरवाङ र ताकममा प्रहरी युनिट छन् । 

 

जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी र सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् ।

 

पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या हुँदै आएको छ ।