close

ताप्लेजुङमा स्वाब दिएकाले बढाए संक्रमण 

ताप्लेजुङमा स्वाब दिएकाले बढाए संक्रमण 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङमा स्थानीय नागरिकको लापरबाहीका कारण  समुदायस्तरमै कोरोना संक्रमण फैलिन त्रास बढेको छ । भारतसहित तेस्रो मुलुकबाट फर्किएका र उनीहरूसँगको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूमा मात्र देखिने गरेको संक्रमण अहिले समुदायमै फैलिएपछि त्रास बढेको हो ।

 

स्थानीय स्तरमा ४४ जनाको स्वाब परीक्षणका लागि पठाउँदा ११ जनासम्ममा कोरोना संक्रमण देखा पर्न थालेको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले संक्रमणको पछिल्लो अवस्थाले समुदायमा  जोखिम बढेको अनुमान गर्न सकिने बताए । 

 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरू पनि एकान्तबासमा नरही भीडभाडमा जाने, मास्क, स्यानिटाइजरलगायत व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन नगर्ने, स्वाब दिएकाहरू पनि रिपोर्ट नआउँदै चिया पसल र सार्वजनिक स्थलमा पुग्नेलगायत कारण कोरोना संक्रमण बढ्न सहयोग पुगेको डा. लामाको तर्क छ ।

 

‘कोरोना अब समुदायस्तरमै पुग्न थालेको छ । बेलैमा नियन्त्रण नभए अवस्था भयाभव हुन्छ’, उनले भने । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न सतर्कता अपनाउन यसअघि नै स्थानीयलाई आग्रह गरिसकेको छ ।

 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं अब संक्रमणबाट बच्न प्रत्येक व्यक्तिले आफू र आफ्नो परिवार जोगाउन सक्नु नै उत्तम उपाय भएको बताउँछन् ।

 

‘संक्रमण समुदायस्तरमै पुगिसकेको अवस्थामा अत्यावश्यक कामबाहेक घर बाहिर नजान, स्वास्थ्य सुरक्षाका उपाय  पालना गर्न, संक्रमणसँग मिल्ने प्रकृतिका लक्षण देखिए एकान्तबासमा रहन र कुनै स्वास्थ्य समस्या आए स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरेका छौं’, उनले भने ।

 

अहिले अधिकांश संक्रमित भने सदरमुकाम फुङलिङमा छन् । पाथीभरा याङ्वरक गाउँपालिकाका एक कर्मचारी र आठराई त्रिवेणीको वडा-५ का केही नागरिकबाहेक अधिकांश संक्रमित सदरमुकामकै रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

 

यसबाहेक उपचारका क्रममा ताप्लेजुङ बाहिर गएका तर स्थायी ठेगाना यहीँ भएकाहरूमा समेत संक्रमण देखिएको छ । तर, उनीहरू ताप्लेजुङ बाहिर नै स्वास्थ्य लाभ गरिरहेका छन् ।

 

कोरोना संक्रमण समुदायस्तरमा पुगेको भन्दै फुङलिङ नगरले शुक्रबारबाट संक्रमितहरूको नजिकमा रहेका तथा शंकास्पद अवस्थाका फुङलिङभित्रका नागरिकको स्वाब संकलन गर्ने भएको छ ।

 

नगरप्रमुख छत्रपति प्याकुरेलले कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्न उपयुक्त देखिएको भनी नगरपालिकाको स्वास्थ्य शाखाले ठम्याएकाहरूको पिसीआर परीक्षण गरिने जानकारी दिए ।

 

आकस्मिक रुपमा गरिनुपर्ने पिसीआर परीक्षणको तयारी तथा व्यवस्थापन भने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको परामर्शमा ताप्लेजुङ अस्पतालले गरिरहेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको सिफारिसमा यहाँका स्थानीय तहमध्ये नगरपालिकाले चार सय थान र बाँकी अठ गाउँपालिकाले दुई-दुई  सय थान गरी दुई हजार थान पिसीआर भाइल खरिद गरेका छन् ।

 

सोही पिसीआर भाइलबाट अनुभव प्राप्त स्वास्थ्यकर्मीले स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाउने गरिन्छ ।