close

आहा ! कस्तो चिटिक्क रेसुंगा

आहा ! कस्तो चिटिक्क रेसुंगा

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगा थप आकर्षित बन्दै गएको छ । रेसुंगा प्राकृतिक रूपले नै सुन्दर र रमणीय छ । त्यसैमाथि यहाँ निर्माण भइरहेका भौतिक संरचनाले रेसुंगा क्षेत्रको आकर्षण अझै बढ्दै गएको छ  । रेसुंगा क्षेत्रमा अहिले प्रदेश सरकार र रेसुंगा नगरपालिकाको सहकार्यमा करिव तीन करोड रुपैयाँको भौतिक संरचना निर्माणको काम भइरहेको छ ।


पोखरीदेखि यज्ञशाला हुँदै भ्यू टावरसम्म निर्माण भएको आर्कषक पैदल मार्ग (सिँढी), सानो रेसुंगा क्षेत्रमा निर्माण भएका आधुनिक मन्दिरलगायत निर्माणका काम तीब्र गतिमा भइरहेको रेसुंगा संरक्षण समितिका सदस्य कृष्ण भण्डारीले बताए । पोखरीदेखि यज्ञशालासम्म डबल लेनको रेलिङसहितको पैदल मार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि भएको छ ।


अझै पैदल मार्गको दुवैपट्टि फलफूल, मध्यभागमा आकर्षक मैरो, राम कुवाको संरक्षण तथा विभिन्न ठाउँमा बगैँचालगायतका संरचना निर्माणको काम धेरै गर्न बाँकी भएको भण्डारीले बताए । उनले रेसुंगाको अर्को आकर्षण गौशाला र साउने मन्दिरको विकासमा पनि केही प्रयत्नहरू भइरहेको जानकारी दिए ।


रेसुंगामा विशेष गरेर दुई ठूला एकादशी र साउनमा ठूला मेला लाग्ने गर्छन् । रेसुंगा पोखरीमा नुहाउन तथा मैरीमा पूजा गर्नका लागि गुल्मीसहित पाल्पा, अर्घाखाँची, बाग्लुङ र प्युठानका श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने गर्छ । पोखरीमा नेपालका चार धामको पानी मिसिएकाले एकादशी र साउनमा नुहाउनेहरूको यहाँ घुइँचो हुने गर्छ ।


अहिले कोरोनाका कारण पोखरी र यज्ञशाला पुग्नेहरूको उपस्थिति कम भएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । अरू वर्ष आजको दिन रेसुंगामा हजाराँै श्रद्र्धालु भक्तजनको उपस्थिति हुन्थ्यो । रेसुंगा पोखरी, यज्ञशाला, गौशाला, सिद्ध मन्दिर, भ्यू टावरलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएकाले पनि युवायुवतीहरूको घुइँचो नै लाग्ने गरेको छ भने शृङ्गे ऋषिसँग जोडिएको पाँच हजार वर्ष पुरानो धार्मिक तथा ऐहिहासिक महत्त्व भएकाले रेसुंगामा भक्तजनहरूको आस्था बढ्दै गएको भुसालले बताए ।


उनले रेसुंगा क्षेत्र सिद्ध, तपो, अमृत र देव भूमि र शृङ्गे ऋषिदेखि दशरथ राजासँगको सम्बन्ध रेसुंगामा जोडिएकाले यसको बृहत्तर विकासमा सबैको सहयोग र सहकार्य आवश्यक भएको बताए ।


स्थानीय तहको चुनावअघि रेसुंगाको सोचेअनुसारको विकास भएको थिएन । यहाँ बल्लबल्ल गाडीको जोखिम मोलेर पुग्ने स्थिति थियो । संरचना निर्माणको कामले गति लिएको थिएन भने भएकै संरचना जोगाउन रेसुंगा संरक्षण समितिलाई मुस्किल परेको थियो ।


सुविधा सम्पन्न होटल नभएका कारण सदरमुकाम आएका पर्यटक पनि रेसुंगा पुग्दैनथे । तर, सडकको स्तरवृद्धि, होटल संचालनका साथै रेसुंगामा भएको भौतिक विकासले स्थानीय सरकारप्रति नागरिकको नयाँ आशा जागेको छ ।


आफूहरू निर्वाचित भएपछि सडक, होटल, मन्दिर निर्माण, संरक्षण र पैदल मार्गलगायतका धेरै आशा लाग्दा काम रेसुंगा क्षेत्रमा भएको रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए । तर, उनले ती काम भने पर्याप्त नभएको स्पष्ट पारे ।


‘गर्नुपर्ने धेरै छन्, सकेका प्रयत्न रेसुंगाको विकासमा भएका छन्’, उनले भने, ‘अझै केही समयमै सडक पिच र अरू देख्नलायक काम हुनेछन् ।’


रेसुंगा गुल्मीको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र हो । सुरुबाटै रेसुंगा क्षेत्रको विकासमा जिल्लाका नेता र नेतृत्वले सोचेको भए प्रमुख आम्दानीको स्रोत रेसुंगा बन्न सक्ने स्थानीयको धारणा छ । त्यसैले अझै पनि तिनै तहका सरकारको ध्यान रेसुंगाको धार्मिक तथा ऐतिहासिक विकासमा पर्याप्त हुनुपर्नेमा सरोकारवालाको जोड छ ।