close

भवन मर्मत गरेसँगै बच्न थाल्यो पाटनको लाखौँ रकम

भवन मर्मत गरेसँगै बच्न थाल्यो पाटनको लाखौँ रकम

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको पाटन नगरपालिकासँग भवन संरचनाहरू पर्याप्त मात्रामा हुँदाहुँदै पनि विगत तीन वर्षसम्म वार्षिक रूपमा झण्डै २० लाख रुपैयाँ भाडा तिर्दै आएको थियो ।
 

राज्य पुनर्संरचनासँगै खारेज भएका केही सरकारी कार्यालयका भवन नगरपालिकाको स्वामित्वमा आए पनि नगरपालिकालाई कुनै वास्ता थिएन ।
   

उल्टै कार्यालय संचालनदेखि कर्मचारी आवासका लागि निजी घरहरू भाडामा लिएर बर्सेनि लाखौँ रुपैयाँ घरभडामै खर्च गर्ने गरेको थियो । तर, अहिले बल्ल चौथो वर्षमा आएर नगरपालिकाको होस खुलेको छ ।
 


अहिले भने पाटनले कार्यालय संचालनका लागि आफ्नै सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न गरेको छ भने केही पुराना भवनलाई आकर्षक ढंगले पुनर्निर्माण गरेर प्रयोगमा ल्याएको छ । यसरी विगतमा तिर्दै आएको लाखौँ रुपैयाँ भाडाको रकमसमेत नगरपालिकाले बचाउन थालेको छ ।


स्थानीय चमनकुमार भण्डारीले भने, ‘विगतमा नगरपालिकाले घरभाडामै मासिक दुई लाख रुपैयाँजति खर्च गर्दै आएको थियो तर अहिले आफ्नै स्वामित्वका बिग्रिरहेका भवनहरू मर्मत गरेर प्रयोगमा ल्याएको छ, भाडा पूर्ण रूपमा कटौती भएको छ । नगरपालिकाले गरेको यो महत्त्वपूर्ण कार्य हो ।’
    

आफूहरूले भाडाका भवनहरू प्रयोग गर्दा पाटन नगरपालिकाको वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म घरभाडामा खर्च हुने गरेको नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । उनले भनिन्, ‘आफ्नै घरमा बस्नु र अर्काको घरमा भाडा तिरेर बस्नुमा निकै फरक छ । हामीले पहिला भाडाका घरमा कार्यालय संचालन गर्दा, हाम्रा निवासका रूपमा प्रयोग गर्दा जे जस्तो अप्ठ्यारो थियो, अहिले त्यस्तो केही छैन । भाडा तिर्ने रकमलाई अर्को काममा खर्च गर्न मिल्यो ।’


पाटन नगरपालिकाले अहिले नगरपालिकाको स्वामित्वमा रहेका तत्कालीन महिला तथा बालबालिकाको कार्यालय रहेको भवन, सो कार्यालयको सभा हल र तात्कालिक कृषि विकास कार्यालयको शाखा रहेको भवनलाई मर्मत गरेको हो । यी भवनहरू अहिले निकै आकर्षक बनेका छन् ।
    

पाटन नगरपालिकामा रहेका यी घर तथा भवनहरू पुनर्निर्माण गर्ने भन्दै विगतका वर्षहरूमा पनि नगरपालिकाले १० लाख रुपैयाँ छुट्यायो तर उक्त रकम काम नभएरै फ्रिज गयो । तर, अब भने रकम फ्रिज हुन नदिई अतिआवश्यक काम सम्पन्न गरेरै छाड्ने योजनामा नगरपालिका रहको नगरप्रमुख केशवबहादुर चन्दले बताए ।