close

२ दिन चलेका दशरथचन्दका विद्यालय पुनः बन्द

२ दिन चलेका दशरथचन्दका विद्यालय पुनः बन्द

Trulli
ADVERTISEMENT

बैतडी– बिहीबारदेखि संचालन भएका बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरू शुक्रबारदेखि पुनः बन्द भएका छन् । समुदाय स्तरमै लक्षणसहितका कोरोना संक्रमित देखिन थालेपछि दुई दिन चलेका विद्यालय फेरि बन्द गर्ने निर्णय गरिएको छ ।


शुक्रबार बसेको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको बैठकले १० दिनपछि विद्यालय खोल्ने निर्णय गरेको छ । अहिले संचालन भइरहेको कक्षा १२ को परीक्षा भने स्थगित नगर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए ।

    

नगरपालिकाले गत बुधबार एक सूचना जारी गर्दै नगर क्षेत्रका विद्यालयहरू मंसिर ११ देखि संचालन गर्न आग्रह गरेको थियो । कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुसार विद्यालय संचालनका लागि निर्देश गरिएको थियो । तर, फेरि शुक्रबारदेखि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
 
    

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूमा नराम्रो असर परेकाले विद्यालय खोलिएका थिए । अहिले १० दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भए पनि १० गतेपछिको अवस्था हेरी विद्यालय संचालनका विषयमा निर्णय हुने दशरथचन्द नगरपालिका– १ का वडा अध्यक्ष भुवनराज भट्टले बताए ।