close

मादीमा एकैदिन तीनवटा पुलको शिलान्यास

मादीमा एकैदिन तीनवटा पुलको शिलान्यास

Trulli
ADVERTISEMENT

पोखरा– खोला बढेपछि गाडीहरु वारिको वारी र पारिको पारी हुन्छ । हिलाम्मे सडकले यात्रुलाई सास्ती  । पोखराबाट नजिकै भएरपनि कास्कीका कतिपय ठाउँहरुमा सडक र पुल राम्रो नहुँदा विकट बनेका छन् ।


कास्कीको मादी गाउँपालिका यहाँको विकट मध्येको पालिका हो । यहाँ अहिलेसम्म पक्की सडक पुगेको छैन । प्रदेश सरकारले गाउँपालिकाहरु जाेड्न एकैदिन ३ वटा मोटरेवल पुल शिलान्यास गरेको छ ।


वडा नम्बर ४ र ११ जोड्ने ईदिखोला पुल, ९ र १० जोड्ने मकैखोला र वार्दीखोला पुल निर्माण गर्न लागिएको हो । इदिमा ३१ मिटर लामो पुल ४ करोड ४२ लाख लागतमा निर्माण हुँदैछ । २५ मिटर लामो मकैखोला पुल बनाउन २ करोड ३२ लाख लाग्नेछ भने वार्दीमा ३१ मिटर लामो पुल ४ करोड ५२ लाखमा बन्नेछ  ।


तीनवटै पुल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरे । गुरुङले संघीयता पछि गाउँको विकास सुरु भएको बताए । उनले विकास नभएका ठाउँलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरिरहेको भन्दै सबै सडकमा पक्की पुल बनाउने घोषणा गरे । उनले समयमै गुणस्तरीय काम गर्न ठेकेदारलाई निर्देशन दिएका छन् ।

 

यता भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले ग्रामिण सडकमा कालोपत्रे सडक बनाउन प्रदेश सरकारले टेण्डर निकालिसकेको बताए । खोला बढेपछि आवतजातव रोकिने अवस्थाको अव अन्त्य हुने उनको भनाई छ ।


पुल शिलान्यास कार्यक्रमको नेपाली कांग्रेसले भने विरोध गरेको छ । कोरोना महामारी बढिरहेको भन्दै कांग्रेसले हुल बटुलेर विकासको नाममा कोरोना भित्र्याएको आरोप लगाएको छ । ‘विविध कार्यक्रमका साथ मुख्यमन्त्री जस्तो गरिमामय ओहोदाका व्यक्तित्व गाउँ ठाँउमा आउनु र ल्याउनु राम्रो कुरा हो । तर त्यही थुम्सिकोट क्षेत्र अहिले कोरोनो संक्रमणले जोखिम अवस्थामा छ,’ काँग्रेस जिल्ला सदस्य ओम प्रकाश गुरुङले भने, ‘संक्रमित बढेपछि पालिकाले कोरोना देखिएका ठाउँमा शिल गरेको छ । तर पालिकाले नै त्यहाँ विद्यार्थी, आमा समूह लगायतलाई परिचालन गरेर तामझाम साथ पुलको शिलान्यास गर्न लगाउनु गलत छ ।’