close

घरघरमै खानेपानी पाएर बगाउँवासी दंग

घरघरमै खानेपानी पाएर बगाउँवासी दंग

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको पाटन नगरपालिका- ५ बगाउँका घरघरमा खानेपानीको सुविधा पुगेको छ ।


बगाउँमा ‘एक घर, एक धारा’ निर्माण भएपछि स्थानीयले वर्षौंदेखि बेहोर्दै आएको खानेपानी समस्याबाट छुटकारा पाएका हुन् ।

 

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सो ठाउँका ४४ घरधुरी र एउटा विद्यालयमा पानीको पहुँच पुगेको वडा सदस्य नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘गाउँमा खानेपानीको समस्या थियो । प्रत्येक घरमा धारा जडान गरिएका स्थानीयलाई सहज भएको छ ।’


३७ लाख ९२ हजार रुपैयाँको लागतमा गाउँमा खानेपानी पुगेको ककरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दलबहादुर चन्दले बताए । पाटन नगरपालिकाको २५ प्रतिशत, स्थानीय उपभोक्ताको २६ प्रतिशत र बाँकी ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लागतमा खानेपानी योजना सम्पन्न भएको उनले बताए ।

 
गाउँमा खानेपानी पुगेपछि वर्षौंदेखिको सास्ती हटेको स्थानीय जनक चन्द बताउँछन् । खानेपानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेपछि निकै सहज भएको भन्दै स्थानीय पार्वती चन्द खुसी भएकी छन् ।


खानेपानीको समस्या समाधान भएपछि गाउँबासी खुसी भएको पाटन नगरपालिका वडा- ५ का अध्यक्ष फुनिसिंह बोहरा सुनाउँछन् ।


खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख चन्दले नगरबासीको खानेपानीमा पहुँच पुर्‍याउन  पहल गरिरहेको बताए । नगर उपप्रमुख सरस्वती कोलीले खानेपानी योजना निर्माणले महिलाहरूको घरायसी कार्यबोझमा कमी आउने विश्वास व्यक्त गरिन् ।