close

कालीगण्डकी करिडोरको २१ किलोमिटर कालोपत्रे हुँदै

कालीगण्डकी करिडोरको २१ किलोमिटर कालोपत्रे हुँदै

Trulli
ADVERTISEMENT

गुल्मी- सरकारले गौरवको आयोजनामा समेटेको कालीगण्डकी करिडोरअन्तर्गत रिडी-रुद्रवेणी-हर्मिचौर सडक खण्ड कालोपत्रे हुने भएको छ ।


सडकको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार रुरु क्षेत्र गाउँपालिका- १ को रिडीमा शिलान्यास गरे ।


मन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर कुनै जिल्ला विशेषको मात्र नभएर देशकै समृद्धिको मार्ग भएको बताए । उनले भने, ‘भारत र चीन जोड्ने करिडोरले बीचमा पर्ने जिल्लाका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा ठूलो प्रभाव पार्नेछ ।’


मन्त्री ज्ञवालीले निर्माण व्यवसायीलाई सम्झौताअनुसार काम गर्न निर्देशन दिए । कालीगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेभीबीच १६ भदौ २०७७ मा सडक कालोपत्रे सम्झौता भएको आयोजना प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए ।


निर्माण कम्पनीले ५५ करोड ३० लाख ५३ हजार ८३५ रुपैयाँ २२ पैसाको लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्नेछ ।


‘सम्झौताअनुसार सडक ११ मिटर चौडाइ, आठ मिटरको डबल लेन, एक मिटर चौडाइको नाली, दुई मिटर भाग सोल्दर छ’, देवकोटाले भने ।


कालीगण्डकी करिडोर सडक योजनामार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत र बाग्लुङ गरेर छ जिल्लामा सडक निर्माणको काम भइरहेको छ । करिडोर गुल्मी खण्डको प्रवेश रुरु क्षेत्र गाउँपालिका- १ बाट सुरु भएको छ ।


गाउँपालिका प्रमुख नीलकण्ठ गौतमले करिडोर रुरुका जनताको भाग्य र भविष्य भएको बताए । उनले पवित्र धाम रुरु हुँदै करिडोरसँगै गुल्मी, अर्घाखाँची र बाग्लुङसम्म पुग्ने महत्त्वपूर्ण शाखा सडक भएकाले आर्थिक समृद्धिको ढोका खुलेको दाबी गरे ।


कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापाले आफ्नो केन्द्रबाट करिडोर निर्माण सुरु हुनुअघि सदरमुकाम र रिडी आउन स्याङ्जा तथा पाल्पा जानुपर्ने विगत अवस्थाको स्मरण गरे ।


‘करिडोरका कारण शाखा सडक पुगेका स्थानका नागरिकको पनि आर्थिक तथा सामाजिक स्थितिमा सुधार आएको छ’, उनले भने ।