close

प्राकृतिक स्रोत र वातावरण संरक्षणमा जुट्यो मंगला

प्राकृतिक स्रोत र वातावरण संरक्षणमा जुट्यो मंगला

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिकाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ निर्माण गरेको छ ।


ऐन कार्यान्वयनमा गएसँगै गाउँपालिकामा सडक निर्माण गर्नुअघि अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण (आईई) गर्नुपर्नेछ ।


विकास आयोजनालाई वातावरणमैत्री बनाएर विपद् न्यूनीकरण गर्न बाबियाचौरमा भएको विशेष गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरेको विधेयक सर्वसम्मत पारित भएको हो ।


जथाभावी डोजर चलाएर विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि सडक खन्नुअघि अनिवार्य वातावरणीय परीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको अध्यक्ष रोकाले जानकारी दिए ।  


गत भदौमा जिल्ला प्रशासन कार्यालयले बेनीमा आयोजना गरेको सर्वपक्षीय बैठकले प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय गरेको थियो ।


सर्वपक्षीय बैठकको निर्णय र वातावरणमैत्री विकासलाई अघि बढाउने पालिकाको नीति कार्यान्वयनका लागि ऐन बनाइएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए ।


‘ऐनमा सडकको नयाँ ट्रयाक निर्माणमा प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण गर्ने, फोहोरमैला व्यवस्थापन, नदीजन्य वस्तुलगायतका वातावरणीय स्रोत व्यवस्थापनका क्षेत्रलाई समेटिएको छ’, उनले भने ।


सभामा गाउँपालिकाले पहिलो चौमासिकमा ३.२१ प्रतिशत पुँजीगत र २०.१९ प्रतिशत चालू प्रगति भएको विवरण प्रस्तुत गरिएको थियो ।


सभाले कार्यपालिका बैठकबाट भएका निर्णय अनुमोदन तथा योजना कार्यान्वयनका लागि आवश्यक अधिकार प्रत्यायोजन गरेको उपाध्यक्ष सिर्जना केसीले बताइन् ।


सभाले वडा- ५ पुलचोक-पप्पलबोट-पाँखु-धारा-सिर्कुम-टीकाबाङ सडक खण्डको हाँडेभीरमा सडकको ट्र्याक निर्माण र नदी नियन्त्रण योजना संचालनका लागि थप ५० लाख रुपैयाँको स्रोत व्यवस्थापन गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए ।


उनका अनुसार यसअघि ५० लाख रुपैयाँ विनियोजन भएको सो योजनामा सभाले ५० लाख रुपैयाँ थप गरी एक करोड रुपैयाँको योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने स्रोत व्यवस्थापन गरेको हो ।


संघीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २४ लाख र गाउँपालिकाको समपूरक कोषबाट २६ लाखलाई समेटेर थप ५० लाख रुपैयाँ उक्त योजनामा थप गरिएको हो ।