close

बलात्कार घटना मिलाएको अभियोगमा वडा अध्यक्ष पक्राउ

बलात्कार घटना मिलाएको अभियोगमा वडा अध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको सिगास गाउँपालिका- ३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्षसहित थप चार जना पक्राउ परेका छन् ।


सिगास गाउँपालिका- ३ का वडा अध्यक्ष शेरसिंह साउदसहित थप चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । यससँगै किशोरी बलात्कार प्रकरणमा छ जना पक्राउ परिसकेका छन् ।

 

गत बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो । ‘उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ’, प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।


बलात्कार घटनाका मुख्य आरोपित सिगास- ३ का दीपकसिंह धामी भने फरार रहेको प्रहरीले बताएको छ । उनी भारत गएको हुन सक्ने प्रहरीको आशंका छ ।


सिगास गाउँपालिका- ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको थियो । गत १४ असारमा गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।


तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

 

‘बलात्कारका मुख्य आरोपी फरार भएपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिइसकेका छौँ’, प्रहरी नायव निरीक्षक घिमिरेले भने ।


यसरी भयो घटना  


सिगास- ३ मा छ महिनाअघि एउटी युवतीमाथि बलात्कार भयोे । बलात्कारमा परेकी पीडित किशोरीले सो घटनाबारे आफ्नो घरका सदस्यलाई जानकारी दिइन् ।


उक्त घटनाका पीडित परिवारलाई पीडकले एक तोला सुन दिने सहमति छलफलमा गरियो । सहमतिको तमसुकसमेत बन्यो । तर, उक्त सहमति भएको छ महिनासम्म पीडित परिवारले सुन पाएन । बलात्कार गर्ने मुख्य अभियुक्त भारत भागे ।


पीडकका आफन्त मुख्य अभियुक्त भागेपछि यो कुरा साम्य भइसक्यो भनेर ढुक्कै भए । उल्टै पीडित किशोरीका परिवारलाई धम्क्याउन थाले ।     


पीडित किशोरीले पछि प्रहरीमा उजुरी दिएसँगै घटना बाहिरियो । सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।   


१८ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनालाई गत १४ असारमा गाउँमै तमसुक बनाएर सामसुम पार्न खोजिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।


‘कात्तिक मसान्तमा पीडित पक्षलाई एक तोला सुन दिने सर्तमा तमसुक बनाइएको रहेछ । तर, सुन दिनुको सट्टा पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटनाबारे प्रहरीमा उजुरी आएको हो । घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउँछौँ’, प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।


पीडित किशोरीसहित उनका आफन्तलाई अहिले जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।