close

किर्ते गरेर प्रधानाध्यापकले गरे १६ शिक्षकको सञ्चय कोष हिनामिना

किर्ते गरेर प्रधानाध्यापकले गरे १६ शिक्षकको सञ्चय कोष हिनामिना

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित रामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापकले बैंक भौचर र कर कार्यालयको कागजात किर्ते गरी शिक्षकहरूको सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको सार्वजनिक भएको छ ।

 

विद्यालयमा कार्यरत शिक्षकको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा र सामाजिक सुरक्षा कोषको कर जम्मा नगरेको र तलब भत्ता नपाएको भन्दै शिक्षकले प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

 

राज्यले दिएको सेवा–सुविधा जम्मा नगरी बैंकको भौचर किर्ते बनाएर विद्यालयका १६ शिक्षक, कर्मचारीको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा र सामाजिक सुरक्षा कोषको करसहित करिब तीन वर्षदेखिको १५ लाख बढी अनियमितता भएको देखिएको छ ।

 

त्रियुगा नगरपालिकाबाट शिक्षकहरूको सेवा–सुविधा निकासा गरे पनि प्रधानाध्यापक देवनाथ चौधरीले सबै रकम आफैंले खल्तीमा हालेर अनियमितता गरेको शिक्षकहरू बताउँछन् ।

 

शिक्षक दुर्गाप्रसाद भट्टराईको २०७७ असोजको तलब र दसैं खर्चसमेत निकासा भएको छैन । ‘२०७७ असोजको तलब र दसैं खर्च माग्दा त्रियुगा नगरले निकासा गरेको छैन, पछि आउँछ भन्दै प्रधानाध्यापक चौधरीले ढाँट्दै आएको देखियो । नगरपालिकाको शिक्षा शाखामा बुभ्mदा सबै शिक्षकको तलब र दसैं खर्च निकासा भइसकेको रहेछ,’ उनले भने ।

 

रामजानकीका १६ शिक्षकको तीन वर्षदेखि सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा नगरेको र शिक्षकहरूको तलबबाट कटौती गरेको सामाजिक सुरक्षा कोषको कर भौचरसमेत नक्कली बनाएको शिक्षक खगेन्द्रप्रसाद पोख्रेलले दाबी गरे ।

 

विद्यालयका प्रधानाध्यापक चौधरीले राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखाको भौचरमा किर्ते छाप र नक्कली हस्ताक्षर गर्ने गरेको छानबिनका क्रममा फेला परेको छ ।

 

चौधरीले विद्यालयमा कार्यरत शिक्षकको एक प्रतिशतको सामाजिक सुरक्षा करसमेत करदाता सेवा कार्यालय गाईघाटको नक्कली भौचर बनाएर देखाउने गरेको भेटिएको छ ।

 

सामाजिक सुरक्षा कोषको कर, कर्मचारी सञ्चय कोष, बिमा र नागरिक लगानी कोषमा पैसा जम्मा गरेको भनेर कर कार्यालय तथा बैंकको नक्कली भौचर बनाएको सुइँको पाएपछि शिक्षकहरूले काठमाडौं, विराटनगर गएर आ–आप्mना खाताको स्टेटमेन्ट हेर्दा पैसा जम्मा नगरेको पाइएको थियो ।


‘प्रधानाध्यापक चौधरीलाई बारम्बार उक्त रकम जम्मा गर्न आग्रह गर्दासमेत अटेर गरेपछि बाध्य भएर प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका हौं’, शिक्षक खगेन्द्रप्रसाद पोख्रेलले भने ।

 

चौधरीले पछिल्लो पटक लकडाउन भएका बेला १३ चैत २०७६ मा किर्ते भौचर बनाएर ल्याएपछि शंका लागेर राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखामा बुभ्mदा बैंकका म्यानेजरले त्यो समय बैंक बन्द भएको र कुनै पनि बैंकिङ कारोबार नभएको बताएका थिए ।

 

‘सेवा–सुविधा नपाएका शिक्षकले पटक– पटक विद्यालय व्यवस्थापन समिति र अभिभावक संघमा निवेदन दिँदासमेत समाधान नभएपछि कानुनी प्रक्रियामा गएका हौं,’ शिक्षक युवराज दाहालले भने ।

 

किर्ते भौचर आउँदासमेत विद्यालयको नभई बैंकको नै गल्ती भएको भन्दै सहायक प्रधानाध्यापक अष्टबहादुर राईले चौधरीको साथ दिएको पीडित शिक्षकको गुनासो छ ।

 

विद्यालयका आठ स्थायी शिक्षक, तीन राहत अन्य अस्थायी करारका गरी १६ शिक्षक, कर्मचारीको २०७३ चैतदेखिको सामाजिक सुरक्षा कर, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जम्मा नगरेको देखिए पनि शिक्षक, कर्मचारीको कर भने काटिएको पीडित शिक्षक युवराज दाहालले बताए ।


२०७५/०७६ को स्रेस्तामा दोस्रो र तेस्रो चौमासिकको सञ्चय कोष, नागरिक लगानी कोष र कर दाखिलाको भौचर पेस गरेको नदेखिएको त्रियुगाका लेखा अधिकृत विनया बस्नेतले जानकारी दिइन् ।

 

‘प्रधानाध्यापक चौधरीसँग शिक्षकहरूको समस्या पटक–पटक राख्दा आलटाल गरे’, अभिभावक संघका अध्यक्ष मेघनाथ दाहालले भने ।

 

लेखापाल रामशेखर राजधामीले भने सबै कागजी प्रक्रिया मिलेर आएकाले सार्वजनिक लेखापरीक्षण पास भएको दाबी गरे ।

 

‘बैंकको नक्कली भौचर पत्ता लागेपछि प्रधानाध्यापक चौधरीसँग बुभ्mदा लेखापाललाई देखाउने अनि लेखापाल नाजवाफ भएपछि घटना बाहिर आएको हो,’ अध्यक्ष दाहालले भने ।


उनका अनुसार प्रधानाध्यापक र लेखापाल यतिबेला राजधामी काठमाडौंमै छन् । रामजानकी माध्यमिक विद्यालय मोतीगडामा देवनाथ चौधरी प्रधानाध्यापक भएको चार वर्ष मात्रै पुगेको छ ।

 

सेवा–सुविधा निकासा गर्दै प्रधानाध्यापक देवनाथ चौधरी र लेखापाल रामशेखर राजधामीले अनियमितता गरेको शिक्षकहरूले निवेदनमा उल्लेख गरेका छन् ।


विद्यालयका प्रधानाध्यापकबाटै शिक्षकको रकम गायब पारिएपछि आवश्यक कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय आउन प्रधानाध्यापक र लेखापाललाई पत्राचार गरिएको छ ।

 

‘शिक्षकको तलब विषयमा परेको उजुरीमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्छौं’, सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालले भने ।


प्रधानाध्यापक चौधरीले उमेर हदबन्दीका कारण १६ मंसिरबाट अनिवार्य अवकाश लिँदै छन् । पीडित शिक्षकका अनुसार प्रधानाध्यापक चौधरीले करिब १६ लाख बराबरको अनियमितता गरेका छन् ।