close

फोन दिन्छु भन्दै भोट लगे, ६ सय घर झन बिचल्लीमा परे

फोन दिन्छु भन्दै भोट लगे, ६ सय घर झन बिचल्लीमा परे

Trulli
ADVERTISEMENT

उदयपुर– स्थानीय तहको निर्वाचनमा उदयपुरगढीका उम्मेदवारहरूले बिजुली, खानेपानी र टेलिफोन सुविधा उपलब्ध गराउने वाचा गरे पनि अहिलेसम्म पूरा नभएको स्थानीयले गुनासो गरेका छन् ।

 

उदयपुरगढी गाउँपालिकाका वडा–२ र ३ का ६ सय घरपरिवार अझै टेलिफोनको पहँुचबाहिरै छन् । कतै आफन्तसँग सम्पर्क गर्नु परे दुई घन्टा उकालो डाँडा चढ्नुपर्ने बाध्यता छ । सरकारी तथा निजी टेलिफोन सेवाप्रदायक कम्पनीले दुर्गममा सेवा विस्तार नगर्दा टेलिफोनबाट आफन्तसँग कुरा गर्ने स्थानीयको धोको अझै पूरा हुन सकेको छैन ।

 

‘एक गाउँबाट अर्को गाउँमा खबर गर्नु परे डाँडा चढेर बोलाउनुपर्छ । कोही बिरामी परेर एम्बुलेन्स बोलाउनु परे बिरामीलाई डोकोमा बोकेर फोन लाग्ने ठाउँ पुग्नुपर्छ’, उदयपुरगढी वडा– २ की जानुका भुसालले गुनासो पोखिन् ।

 

आफन्तलाई जरुरी फोन गर्नु परे कि गाउँपालिकाको कार्यालय वा डाँडाकाँडा चहार्नुपर्ने अवस्था रहेको स्थानीय गीता मगर सुनाउँछिन् । उदयपुरगढी गाउँपालिकाका ३ नम्बर वडाध्यक्ष मनोज कार्की निर्वाचित भएपछि निरन्तर दूरसञ्चार र एनसेल कार्यालय पुगेर टावरको माग गरेको दाबी गर्छन् ।

 

‘दुवै कार्यालयले हुन्छ भन्दै टारे,’ उनले भने, ‘वडा कार्यालयमा पनि टेलिफोन र इन्टरनेट नहुँदा सरकारी काम गर्न गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यता छ ।’ टेलिफोनबाट वञ्चित नागरिकलाई चाँडै सेवा उलपब्ध गराइने उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार राईको दाबी छ ।