close

तनहुँका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

तनहुँका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँका दसमध्ये पाँच स्थानीय तहमा अस्पताल शिलान्यास गरिएको छ ।


पालिकाका जनतालाई पायक पर्ने केन्द्रमा अस्पताल शिलान्यास हुनुपर्ने हो । तर, सरकारले पहुँँच र हचुवाको भरमा स्थान तोकेर पठाउँदा शुक्लागण्डकी नगरपालिकामा भने वडाबासीलाई पायक नपर्ने स्थानमा अस्पताल शिलान्यास गरिएको छ ।


शुक्लागण्डकी नगरपालिका–११ बिसौना राइपुरमा १५ शय्याको राइपुर प्राथमिक अस्पतालको शिलान्यास गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले अस्पताल शिलान्यास गरिन् ।


अस्पताल बन्ने खुसीयालीमा बाजागाजासहित गाउँलेले हर्षबढाइँ गरे । ‘गाउँमा अस्पताल बन्यो भने कसैले अकालमा ज्यान गुमाउनुपर्ने छैन’, स्थानीय सरस्वती भट्टराईले भनिन् ।


यहाँ अस्पताल नहुँदा गर्भवती महिला सुत्केरी हुन स्याङजा बजार पुग्नुपर्ने बाध्यता थियो । दैलोमै अस्पताल बनेपछि डोकोमा बिरामी बोकेर अन्यत्र लैजानुपर्ने अवस्था हटेको भन्दै स्थानीय खुसी छन् ।


राइपुरमा शिलान्यास गरिएको अस्पतालले धेरै क्षेत्रलाई सेवा दिने राजपुर माविका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले बताए । उनले भने, ‘धेरै क्षेत्रलाई समेटेकाले अस्पताल सहजै चल्नेछ ।’


तनहुँ र स्याङ्जाको सीमा नजिक शिलान्यास गरिएको अस्पतालले दुई जिल्लाबासीलाई सेवा दिनेछन् । तर, पूरै शुक्लागण्डकी नगरबासीका लागि यो अस्पताल अपाय पर्नेछ ।

 

अस्पताल निमार्णका लागि संघीय सरकारको करिब १८ करोड रुपैयाँ लगानी गरेको छ ।  यो बर्ष नगरपालिकालाई संघीय सरकारले एक करोड रुपैयाँ बजेट पठाइसकेको छ ।


गत वर्ष २२ फागुनको शुक्लागण्डकीको हिँउदेसभा तथा छैटौं नगरसभाले राइपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न केन्द्रीय मन्त्रालय सूचना प्रकाशित गरेको थियो ।

 

‘तर, नगरपालिकाले बिरामीको चाप, भौगलिक सुगमता र पूर्वाधारको अवस्थालाई दृष्टिगत गरी शुक्लागण्डकी–४ दुलेगौँडामा रहेको खैरेनीटार स्वास्थ्य चौकीलाई सूचीकृत गरी संशोधन गर्न स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध गरे पनि कार्यान्वयन भएन’, शुक्लागण्डकीकी उपप्रमुख सविता रसाइलीले भनिन् ।


सोही वडाको केन्द्र साँखेमा नगरपालिकाले दुई वर्षदेखि नगरस्तरीय १५ शय्याको ढोर फूलबारी सहिद अस्पताल सञ्चालन गरेको छ । एउटै वडामा दुई नगरस्तरीय अस्पताल सञ्चालन गर्न नहुने शुक्लागण्डकीबासीको धारणा छ ।


शुक्लागण्डकी नगरपालिकाको केन्द्र दुलेगौँडा बजारदेखि २० किलोमिटर पर राईपुर बिसौनामा राइपुर स्वास्थ्य चौकी छ ।


यस्तै, जिल्लाका अन्य चार स्थानीय तहमा पनि अस्पताल भवन शिलान्यास गरिएको छ । भीमाद नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको हो ।


भीमादको भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, शुक्लागण्डकीको राइपुर स्वास्थ्य चौकी, म्याग्देको थर्पु स्वास्थ्य चौकी, देवघाटको देवघाट स्वास्थ्य चौकी र ऋषिङको भीरकोट स्वास्थ्य चौकीमा अस्पताल निर्माण हुनेछन् ।


भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समय आएर स्थगित भएको छ । भीमादमा १५ र म्याग्दे, देवघाट र ऋषिङमा १०÷१० शय्याका अस्पताल निर्माण हुनेछन् ।