close

सय वर्ष पुगेँ, अब कति वर्षमा पाइन्छ नागरिकता सरकार ? 

सय वर्ष पुगेँ, अब कति वर्षमा पाइन्छ नागरिकता सरकार ? 

Trulli
ADVERTISEMENT

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिका- १३ रुचानीकी छत्रमाया मगर उमेरले १ सय वर्ष पार गरिसकिन् । उनले अझै नागरिकता पाएकी छैनन् ।

 

माइती पक्षका आफन्त कोही नहुँदा आफूले नागरिकता प्राप्त गर्न नसकेको छत्रमाया सुनाउँछिन् । ‘नागरिकता बेलैमा बनाउनुपर्छ भनेर कसैले भनेनन् । अहिले नागरिकता नहुँदा राज्यबाटै ठगिएकी छु’, उनले भनिन् ।


नागरिकता बनाउँदा बाआमाको नागरिकता चाहिन्छ भन्ने सुनेकी उनले माइती पक्षमा कोही नहुँदा झनै गाह्रो भएको बताइन् । ‘बुढेसकालमा सरकारले हेर्छ भन्ने सुनेकी थिएँ तर मलाई हेरेन’, उनको बिलौना छ, ‘के मैले नागरिकता पाउन सक्दिनँ ? नागरिकता हातमा नहुँदा वृद्धाभत्तासमेत बुझ्न पाइनँ ।’

 

मर्ने बेलासम्म पनि नागरिकता नै नभई मरिने डर उनलाई छ । पाँच वर्षअघि श्रीमान्को मृत्यु भएपछि एक्ली बनेकी छत्रमायालाई अहिले नातिले पालनपोषण गरिरहेका छन् । उनका नाति पदमबहादुर राना मगरले ज्याला मजदुरी गरेरै भए पनि हजुरआमाको पालनपोषण गर्दै आएका छन् । 


स्थानीय एकराज पहाडी भन्छन्, ‘वृद्धावस्थामा पनि हेरविचार गर्नेले सकेको राम्रो गरेकै छन् । नातिले हजुरआमालाई केही कुराको कमी हुन दिएका छैनन् । आर्थिक अवस्था कमजोर भए पनि दिनभर बनिबुँतो र ज्याला मजदुरी नगरी घरमा खानेकुराको जोहो हुँदैन ।’

 

सरकारले यस्ता जेष्ठ नागरिकलाई नागरिकता प्रदान गरेर पाउने सेवा- सुविधाबाट वञ्चित गराउन नहुने उनको भनाइ छ ।


कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले १ सय वर्ष पार गरेका ज्येष्ठ नागरिकको सम्मान गर्ने क्रममा छत्रमायाको नागरिकता नभएको थाहा पाएको बताउँछन् । ‘आर्थिक अवस्था कमजोर रहेकी बूढीआमाको सम्मान कार्यक्रममा पुगेका बेला व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेँ । नागरिकता दिलाउन पहल गरिरहेको छु’, नगरप्रमुख खत्रीले भने ।

 

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकता फारममा विवरण भरेर आवश्यक प्रमाण पुग्ने कागजपत्र पेस गरे जिल्ला प्रशासनले नागरिकता बनाइदिने जानकारी दिए ।