close

सडक दुर्घटनाको कहरः ११ परिवारले गुमाए आफन्त, आजमात्रै गयो दुईजनाको ज्यान

सडक दुर्घटनाको कहरः ११ परिवारले गुमाए आफन्त, आजमात्रै गयो दुईजनाको ज्यान

Trulli
ADVERTISEMENT

बैतडी–  आइतबार डोटीमा भएको जीप दुर्घटनामा बैतडीको एकै परिवारका तीन जनाको ज्यान गयो । सोमबार फेरि दार्चुलामा ट्रक दुर्घटनामा बैतडीकै दुईजनाको दुःखद निधन भएको छ ।


यसअघि गत २८ कात्तिकमा पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा एकै वडाका तीनजनाको ज्यान गएको थियो । ९ मंसिरमा दशरथचन्द नगरपालिका–१० बुड्डामा भएको जिप दुर्घटनामा जिल्लाका पाँच जनाले ज्यान गुमाएका थिए । यी लगातारका घटनाले बैतडीबासी शोकमग्न छन् । जतापनि बैतडीकै  नागरिकको सवारी दुर्घटनामा ज्यान गएको भन्दै मर्माहत भएको भन्दै सुर्नया ५ का सुरेन्द्रबहादुर महराले दुःख व्यक्त गरे ।


सोमबार दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिहं कार्की, दोगडाकेदार गाउँपालिका–६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका–८ नगतडका १७ वर्षीय चन्द्रसिंह विष्ट भएको दार्चुलाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए ।


गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना३ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । गएराति १० बजे दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।


ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटना हुनुभन्दा ३/४ घण्टा पहिला ट्रकको इन्जिनमा समस्या आएकोले दुर्घटना भएको हुनसक्ने अनुमान छ ।


यसैबीच, डोटीमा आइतबार राति भएको जिप दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका-६ मूलखटालीका एकै परिवारका तीनजनाको ज्यान गएपछि पुरै गाउँ शोकमा डुबेको छ । आइतबार राती डोटीको दिपायलबाट बोगटान तर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २८ बर्षीय मञ्जु त्रिपाठी अवस्थी, उनका ६५ बर्षीय सासुआमा डम्मरी अवस्थी र उहाँका ३ बर्षीय छोरा मिलन अवस्थीको मृत्यु भएको हो ।

 

एकैगाउँका तीनजनाको मृत्यु भएपछि गाउँ शोकमग्न भएको स्थानीय अम्बादत्त अवस्थीले जानकारी दिए । उनले भने ‘एकैघरका तीनजनाको मृत्यु भएको छ । गाउँ पुरै शोकमग्न भएको छ ।  दुर्घटनामा परी मृत्यु भएका मञ्जु डोटीको बोगटान फुड्सील गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत थिइन् ।

 

सुर्नया गाउँपालिकामा काज सरुवा गर्ने तयारी भएकै बेला दुर्घटना परी उनकाे निधन भएपछि आफ्नै गाउँमा सेवा गर्ने योजना अधुरै रह्यो । ‘शाखा अधिकृतमा नाम निकाल्छु भन्थिन् । तर दैवले मेरो घरबास उडायो । घरमा मुखमा बोल्ने मान्छे समेत बाँकी राखेन,’ मृतक मञ्जुका श्रीमान मदनराज अवस्थीले भने, ‘पापी दैवले मेरो घरपरिवार उजाड बनायो । सानैमा बुवाको मृत्यु भयो । अहिले आमा, श्रीमति र छोरा एकै दिन गुमाए ।’
बैतडीमा एक महिना नपुग्दै ११ परिवारले आफन्त गुमाएका छन् ।