close

भाषणमै सीमित भो बेनीको ‘मिनी स्टेडियम’ (भिडियो खबर)

भाषणमै सीमित भो बेनीको ‘मिनी स्टेडियम’ (भिडियो खबर)

ADVERTISEMENT

म्याग्दी - बेनीमा ‘मिनी स्टेडियम’ बनाउने जनप्रतिनिधिहरुको घोषणा भाषणमै सिमित बनेको छ । बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्चलाई बिस्तार र स्तरोन्नति गरी ‘मिनी स्टेडियम’ बनाउने काम रोकिएको छ ।

 

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई बिस्तार गर्न र प्याराफिट बनाउन सुरु गरिएको काम अधकल्चो बनाएर छाडिएको छ । ‘मिनी स्टेडियम’ बनाउन नौ करोड रुपैयाँ लागत अनुमान सहित बेनी नगरपालिका र खेलकुद बिकास समितिले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेका थिए । 

 

चालु आर्थिक वर्षमा तीनै तहका जनप्रतिनिधिहरुले खुल्ला मञ्च खेलमैदान बिस्तार र स्तरोन्नतिका लागि बजेट बिनियोजन नगरेपछि अलपत्र परेको बेनी बजारका बासिन्दा एकेन्द्रबहादुर रावलले बताए । ‘खुल्ला मञ्च म्याग्दीको गहना हो,’ उनले भने ‘जनप्रतिनिधिहरुको बेवास्ता र उपेक्षाका कारण बजेट ब्यवस्थापन नहुँदा खुल्ला मञ्च भद्रगोल बनेको हो ।’ 


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षअघि जिल्ला समन्वय समिति म्याग्दीको सभाहल उद्घाटन गर्ने क्रममा बेनीको खुल्ला मञ्चलाई ‘मिनी स्टेडियम’ बनाउने घोषणा गरेका थिए । नगरपालिकाका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदले पनि मुख्यमन्त्रीले जस्तै बेनीमा मिनी स्टेडियमको सपना बाड्ने गरेका छन् । 

 

खेलकुद गतिबिधि ठप्प 


प्याराफिट बनाउन र मैदान बिस्तार गर्न सुरु गरेका काम अधुरा छन् । खेलमैदान झाडीमा परिणत भएको छ । म्याग्दी नदीको किनारतर्फको प्याराफिट भत्काइएको थियो । प्याराफिट भत्काएपछि खेलमैदानको बिचमा ढुङ्गा र माटो थुपारिएको छ । 


फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता देखि जिल्ला स्तरीय मेला, महोत्सब, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन खुल्ला मञ्च खेल मैदानमा हुने गर्छ । 

 

खेलमैदानको अभावमा बेनीमा केही समययता खेलकुद गतिबिधि ठप्प भएको बेनीका युवा सतिश श्रेष्ठले बताए । ‘लकडाउनमा सुरु भएको खेलमैदान बिस्तारको काम अझै सकिएको छैन,’ श्रेष्ठले भने, ‘सुरु गरिएको काम समेत अधुरा र अलपत्र छन् ।’ 

यस्तो बन्ने योजना छ 


त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाईलाई ४५ मिटरको बनाउन लागिएको हो । 


हाल ९÷९ जनाको फुटबल खेलाइने खेलमैदान बिस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिन्छ । दायाँ र बायाँ ९०/९० मिटर लामा सात हजार जना क्षमताको चार तहको प्याराफिट बनाउन सुरु गरेको थियो । जनप्रतिनिधिहरुको उपेक्षा र वेवास्ताले बजेट बिनियोजन नहुँदा काम अधुरा र खेलमैदान अस्तव्यस्त भएको बजारबासीको गुनासो छ । 


हालसम्मको प्रगति 


पछिल्लो सात वर्षयता बेनी नगरपालिका, प्रदेश र संघीय सरकारले बेनीको खेलमैदान बिस्तारका लागि तीन करोड रुपैयाँ भन्दा बढी बजेट लगानी गरिसकेका छन् । म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र ५ मिटर अग्लो पर्खाल बनाउने काम करिब आधा सकिएको छ । 


करिब १५ मिटर प्याराफिट बनाइएको छ । कालीगण्डकी किनारतर्फ करिब पचास मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । २०५१ सालमा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख रुपैयाँ बजेट बिनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।


के भन्छन् जनप्रतिनिधि ?


जनप्रतिनिधिहरु भने कोरोनाका कारण खेलमैदानलाई बजेट बिनियोजन गर्न नसकेको बताउदै बाँडफाड गर्न बाँकी अघिल्लो वर्षको बजेट बिनियोजन गर्न पहल गर्ने प्रतिक्रिया दिएका छन् । 


बेनी नगर कार्यपालिकाको भौतिक पूर्बाधार समितिका संयोजक कृष्णकुमार बिश्वकर्माले कोरोनाका कारण नगरसभाबाट खेलमैदानलाई बजेट बिनियोजन गर्न नसकिएको बताए ।  


‘कोरोना कोषमा बजेट छुट्टाउदाँ खुल्ला मञ्च लगायतका केही क्रमागत योजना प्रभावित भएका छन,’ खेलकुद बिकास समिति म्याग्दीका निवर्तमान अध्यक्ष समेत रहेका विश्वकर्माले भने, ‘बाँडफाड गर्न बाँकी अघिल्लो वर्षबाट ल्याएको बजेटका अलावा संघीय र प्रदेशबाट खेलमैदानलाई बजेट व्यवस्थापन गर्न पहल गर्छौं ।’