close

सैनामैनाको पहिचान र विकास

सैनामैनाको पहिचान र विकास

Trulli
ADVERTISEMENT

नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाअन्तर्गत उत्तर-पश्चिममा अवस्थित नगरपालिका हो सैनामैना । २५ वैशाख २०७१ मा गठन भएको नगरपालिका हो यो । 

 

यस नगरपालिकाको मूल नारा कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सुसंस्कृत, समृद्ध नगर सैनामैनाको आधारु रहेको छ ।  विश्व शान्तिका अग्रदूत तथा महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि करिब १५ किलोमिटर उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ सैनामैना । 


यस नगरपालिकाको पूर्वमा बुटवल उपमहानगरपालिका, पश्चिममा वाणगंगा नगरपालिका, कपिलवस्तु, उत्तरमा शीतगंगा नगरपालिका, अर्घाखाँची, रैनादेवी छहरा र तिनाउ गाउँपालिका, पाल्पा, दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका छन् । साविकका पर्रोहा र दूधराक्ष गाविस समायोजन गरी सैनामैना नगरपालिका बनेको हो । 


२७ वैशाख २०७३ मा राज्यको पुनस्संरचनापश्चात साविकको सालझन्डी गाविस समायोजन गरी सैनामैना नगरपालिका बनेको हो । सैनामैना नगरपालिकामा हाल ११ वटा वडा छन् । 

 

यो नगरपालिका १६२.१८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसंख्या ५५ हजार ८२२ रहेको छ भने जनघनत्व ३४४।२ प्रति वर्ग किलोमिटर छ । नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषी, संस्कृति एवं परम्पराको सम्मिश्रण रहेको छ । नगरवासीहरूबीच सुमधुर सम्बन्धसहितको बसोबास छ ।

 

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्त्विक महत्त्व बोकेको सैनामैना क्षेत्र नेपाल सरकारबाट नेपालका सय पर्यटकीय गन्तव्यमा १५ कात्तिक २०७५ मा घोषणा भएको छ । यस नगरपालिकामा बसाइँसराइ गरी आउने क्रम बढ्दो छ । 

 

यहाँको हालको अनुमानित जनसंख्या ७१ हजार रहेको छ ।  यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी थारू जातिहरूको वसोवास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालको जातजातीहरुको बसोवास रहेको छ ।

 

विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्त्विक महत्त्वका स्थलहरू रहेको यस नगरपालिकाको गहनाका रूपमा सैनामैना क्षेत्र, स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग, पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौराबाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरू, रानी कुवा, रानीबगिया, जर्लैया सिमसार क्षेत्र आदि छन् ।

 

विकासको गतिसँगै जनप्रतिनिधिहरूको असल नेतृत्वदायी भूमिका र कर्मचारीहरूको सकारात्मक सोच एवं उत्तरदायित्वका कारण अहिले सैनामैनामा विकासमा नयाँ आयाम थपिँदै गएका छन् । 

 

यसै क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाल सरकारका अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिवको सकारात्मक सहयोग र विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि सहयोग गर्नुका साथै यसै क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्नु, सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका नेताको पनि सकारात्मक सहयोग रहनु, प्रदेशमा सभामा यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तापक्षका प्रमुख सचेतकको पनि विकासप्रति सहयोग हुनु, नगरपालिकाको महत्त्वपूर्ण भूमिकामा रहेका सैनामैना नगरपालिकाका नगरप्रमुखमा पनि सिंहदरबारको राम्रो अनुभव भएकाले देखिने खालका गुणस्तरीय विकासमा लागिपरेका छन् ।

 

निर्वाचित जनप्रतिनिधिहरूमा प्रायः सबै वडाका अध्यक्षहरू विकासमा एक ढिक्का हुनु र अन्य जनप्रतिनिधिहरूमा पनि सैनामैनाको विकासबाट पहिचान बनाउनुपर्छ भन्ने एउटै धारणा रहनु, यहाँका राजनीतिक दलका व्यक्तित्वहरू तथा सामाजिक अभियन्ताबाट पनि सकारात्मक सहयोग र विकास हाम्रै लागि हो भन्ने धारणा प्रशस्त पाइनु तथा यहाँका संचारकर्मीहरूबाट पनि विकाससम्बन्धी जनचेतना फैलाउने किसिमका समाचार, सूचना, सम्प्रेषण गरी सकारात्मक सहयोग हुनु यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधार बनेको छ ।

 

प्रत्यक्ष देख्न सकिने विकासमा सैनामैना चक्रपथ निर्माण तीब्र गतिमा अगाडि बढेको छ । खोरमोर क्षेत्रमा सैनामैना, बुटवल, कन्चनलगायतका स्थानमा संयुक्त फोहोर प्रशोधन केन्द्रको निर्माण भइरहेका छन् । उद्योगहरूको एकीकृत विकास र व्यस्थापनका लागि औद्योगिक ग्रामको तीब्र रूपमा काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र राष्ट्रिय खेलकुद रंगशालाको निर्माण कार्य भइरहेको छ । 

 

विद्यालयहरूको समायोजन भई गुणस्तरीय शिक्षामा जोड दिइएको र नमुना विद्यालयको रूपमा समेत छनोटमा परी कार्य अगाडि बढेको छ । 

 

क्याम्पसमा भैतिक सुधारका लागि पूर्वाधार निर्माण भइरहेका छन् । लामीरह बहुउद्देश्य बाँधको विस्तृत आयोजना प्रतिवेदनको कार्य भइरहेको छ । व्यवस्थित रूपमा हाटबजार संचालन गर्न भवनहरू तयार भई उद्घाटनको चरणमा छन् ।

 

विकासका लागि खेल, स्वास्थ्यका लागि खेलका लागि कभर्ड हलहरू र वडाहरूमा खेलमैदान निर्माण भएका छन् । ५०० जना बस्न मिल्ने जेष्ठ नागरिक संरक्षण ग्रामको विस्तृत आयोजना प्रतिवेदन तयार भई बजेट व्यवस्थापनको प्रक्रियामा छ । १५ शय्याको अस्पताल निर्माणका लागि बजेट निकासा भएको छ । 

 

खानेपानी ब्यवस्थापनका लागि खानेपानीका पूर्वाधारहरू सम्पन्न भएका छन् । नगर क्षेत्रमा कम्तीमा २० फिटे बाटाहरूमा अत्याधुनिक अस्पाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ । आधुनिक किसिमको साँस्कृतिक शहर निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । 

 

वन संरक्षणका लागि वृक्षरोपण गरी संरक्षण गर्ने र काठको चोरी निकासी रोक्न एवं वन संरक्षणका लागि तारबार भइरहेको छ । सालझण्डी-ढोरपाटन सडक नजिक सालझण्डी सुविधासहितको बसपार्क निर्माणको क्रममा रहेको छ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सैनामैनाको पीपलडाँडामा रिफ्रेस सेन्टरको निर्माण तीब्र गतिमा अगाडि बढेको छ । 

 

वर्षौंदेखि अव्यवस्थित बसोवास गरिरहेका एवं भूमिहीन सुकुम्वासीहरूका लागि जग्गाधनी दर्ता प्रमाणपत्र ९लालपुर्जा० पाउन नसकेकाहरूका लागि विवरण संकलन गरी जग्गा नापजाँच गर्ने कार्यको थालनी भएको छ । कोभिड( १९ पोजिटिभ भएकाहरूका लागि नगरपालिकाको आफ्नै स्रोतबाट आईसोलेसन अस्पताल संचालन गरिएको छ, जसबाट करिव ३०० जना बिरामी निको भएर घर फर्किसकेका छन् । 

 

सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा हेल्थ पोस्ट संचालन गरिएको छ । पर्रोहा परमेश्वरधामको बृहत्तर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार हुँदै छ । मल्मलामा अत्याधुनिक पार्कको डीपीआर तयार भएको छ । शीतभण्डारको निर्माण हुँदै छ । बाटाहरूको स्तरोन्नति भइरहेको छ । पर्यटनका लागि पूर्वाधारहरू निर्माण भइरहेका छन् । बुद्धकालीन संग्रहालयको संरक्षण र सुधार गरिँदै छ । जर्लैया सिमसार क्षेत्रको विकासका लागि प्रक्रिया अगाडि बढाइएको छ ।


 
लुम्बिनी प्रदेश सरकारबाट पहिलो स्वीकृतिप्राप्त साझा टीभी एचडी, रेडियो सैनामैना, रेडियो मल्मला, रेडियो टाइम्स, किस एफएम र सैनामैना सन्देश पत्रिका नगरका संचारका गहनाका रूपमा रहेका छन् । यसै गरी होटल बाबरी, होटल त्रिमूर्ति, होटल रेड चिल्ली, होटल ह्वाइट हाउस, होटल ग्लोबल, होटल ड्रिमल्याण्ड, होटल गुणाखर, होटल एप्पललगायतका करिव ५०० जना बास बस्न सक्ने आधुनिक किसिमका थुप्रै होटलहरू पर्यटन पूर्वाधार विकासका लागि कोशेढुंगा बनेका छन् । 

 

सैनामैनाको बीच भागबाट करिव २७ किलोमिटर लोकमार्ग रहेको छ । यसरी आवतजावतमा सबै स्थानमा सजिलै पुग्न सकिने यातायातको सहजता रहेको छ । शिक्षातर्फ संस्थागत १८ र सामुदायिक १७ गरी ३५ वटा विद्यालयहरू रहेका छन्, जसले गर्दा शिक्षा प्राप्त गर्न सजिलो छ ।  

 

साविकका पर्रोहा, दूधराक्ष र सालझण्डी गाविस समायोजन गरेर सैनामैना नगरपालिका बनेको धेरै भएको छैन । विकासको फड्को भने यस नगरले मारिरहेको छ, जसका कारण आज सैनामैनामा के छैन रु थप विकासका लागि सुझाव पाउन सकिन्छ कि ! 


(लेखक सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)