close

प्याराग्लाइडिङको प्रचुर संभावना बोकेको गुल्मी

प्याराग्लाइडिङको प्रचुर संभावना बोकेको गुल्मी

Trulli
ADVERTISEMENT

गुल्मी- भिरबाट मान्छे नै आकाशमा उडेको गुल्मीको अर्खाबाङका स्थानीयले कहिल्यै देखेका थिएनन् । तर, आफ्नै आँखा अगाडि युवाहरूले उडेर मज्जा लिए । गुल्मीको मालिका गाउँपालिका- ४ अर्खाबाङको देउरालीबाट प्याराग्लाइडिङ गरेको देखेर स्थानीय खुसी र दंग परे ।


‘डोरीमा झुण्डिएर उडेको देख्दा अचम्म परेँ’, मालिका गाउँपालिका- ४ की मीना अर्यालले भनिन्, ‘बाँचेपछि अनेक देख्न पाइने रहेछ ।’


अर्याल मात्र छक्क परिनन्, विकट गाउँमा प्याराग्लाइडिङ होला भनेर स्थानीयले कल्पना पनि गरेका थिएनन् । अग्लो भिरबाट उडेर मनोरञ्जन गरिने साहसिक खेल पछिल्लो पुस्ताको रोजाइ बन्ने गरेको छ । यो खेलबाट पोखरा, स्याङ्जा र लमजुङलगायतका स्थानमा राम्रो आमदानीसमेत भएको छ ।


गुल्मी प्याराग्लाइडिङ उडानका दृष्टिकोणले अत्यन्तै राम्रो छ । भर्खरै मात्र जिल्लाको मदाने र मालिका गाउँपालिकाका दुई स्थानमा प्याराग्लाइडिङको सफल परीक्षण भएका छन् । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले मालिका गाउँपालिका- ४ को देउराली र मदाने गाउँपालिका- २ को कसुरेडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो ।


स्काई बर्ड प्याराग्लाइडिङ पोखराका पाइलट भुवन गाहाले आफूले परीक्षण गरेका मदाने र मालिकाका दुवै स्थान व्यावसायिक उडानका दृष्टिले महत्त्वपूर्ण भएको बताए । दुवै स्थान लामो र छोटो दूरीको प्याराग्लाइडिङका लागि राम्रो भएकाले अहिले छोटो दूरीबाटै उडान गर्न सुझाव दिए । उनले पोखराको सराङकोट पनि एक हजार ४५० मिटरको उचाइमा मात्र भएकाले कसुरेडाँडा र देउराली सराङकोटभन्दा राम्रो भएको बताए ।


‘अहिले लामो दूरीका लागि खर्च बढी पर्छ, तत्काल छोटो दूरीको प्याराग्लाइडिङ गरौँ’, गाहाले भने, ‘पर्यटकको आकर्षण बढ्दै गएपछि लामो उडान नहुने कुरै भएन ।’


गुल्मी पश्चिमका अग्ला पहाडहरू प्याराग्लाइडिङका लागि बाह्रै महिना उपयुक्त छन् । धेरै अग्ला पहाड भएकाले र उडेर धेरै ठाउँमा पुग्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्न सक्छ । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं.- २ का सांसद गोकर्ण विष्टले गुल्मी पश्चिमका स्थानीय तहले व्यावसायिक रूपमा प्याराग्लाइडिङ संचालनको योजना बनाउन आग्रह गरे ।


अब परीक्षणभन्दा पनि नियमित बनाउने विषयमा स्थानीय तहबीच समन्वय आवश्यक रहेको विष्टले बताए । ‘प्याराग्लाइडिङ आन्तरिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिका लागि कोशेढुंगा बन्नेछ’, उनले भने, ‘एकीकृत विकासमा विलम्ब गर्नुहुँदैन ।’


उनले प्याराग्लाइडिङ संचालनका लागि आवश्यक संरचना निर्माणका लागि संघीय सरकारको तर्फबाट सबै काम गर्ने प्रतिबद्धता पनि जनाए । मदाने र मालिकाका अधिकांश गाउँ सालझण्डी-ढोरपाटन सडकखण्डमा पर्छन् ।


यो सडकले तराईदेखि हिमालसम्म जोड्छ । मदाने गाउँपालिका- २ को कसुरे र मालिका गाउँपालिका- ४ को देउराली छोटो दूरीमा पर्ने भएकाले दुईमध्ये एक स्थानमा व्यावसायिक प्याराग्लाइडिङको संभावना भएको गुल्मीमा लामो समय काम गर्दै आएका लमजुङका शरद श्रेष्ठले बताए ।


यी स्थान सालझण्डी-ढोरपाटन सडकखण्डको नजिक पर्ने र गुल्मीसहित अर्घाखाँची, बाग्लुङ र प्युठानका महत्त्वपूर्ण ठाउँमा प्याराग्लाइडिङ गर्न सकिने भएकाले व्यावसायिक संचालनमा कुनै समस्या नहुने श्रेष्ठले बताए ।


‘पोखराको सराङकोट जस्ता गुल्मीमा धेरै ठाउँ छन्, सोच र योजनाको मात्र अभाव हो’, उनले भने, ‘अब परीक्षणभन्दा व्यवसाय नै संचालन गर्नुपर्छ ।’


अहिलेसम्म मालिका गाउँपालिका र मदाने गाउँपालिकाले प्याराग्लाइडिङको परीक्षण गरेका छन् । मालिका गाउँपालिका प्रमुख रीतबहादुर थापाले पहिले संभाव्यता अध्ययन नगरी व्यावसायिक सफलता पूरा नहुने भएकाले आफूहरूले परीक्षण गरेको बताए । उनले अब भौतिक संरचना निर्माण र अरू स्थानीय तहसँगको समन्वयमा व्यावसायिक रूपमा निरन्तर संचालन गर्ने योजना बनाउने बताए ।