close

रघुगंगाको एउटै खोलामा पाँचवटा जलविद्युत आयोजना

रघुगंगाको एउटै खोलामा पाँचवटा जलविद्युत आयोजना

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको एउटै पालिकाभित्र पाँचवटा जलविद्युत आयोजना निर्माण हुँदै छन् । रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा जलविद्युत आयोजना निर्माण कार्यले गति लिएको छ ।


नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको रघुगंगामा निजी क्षेत्रबाट ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।


तुदी पावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगंगा गाउँपालिका- ८ बन्दीघाट र विद्युतगृह वडा नं.- ७ चिमखोलामा रहनेछ । कम्पनीका इन्जिनियर प्रकाश तिमिल्सिनाले तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिए ।


‘बाँध निर्माणको ठेक्का लिएको रामेछाप शेर्पा कन्स्ट्रक्सन र सुरुङको ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले प्रारम्भिक चरणको निर्माण सुरु गरेका छन्’, उनले भने, ‘मौवाफाँट-दग्नाम-दर्मिजा-चिमखोला हुदै बाँध निर्माण स्थलसम्म पहुँचमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।’

 

आयोजनाको कुल लागत पाँच अर्ब ९२ करोड रुपैयाँ अनुमान गरिएको छ । गाउँपालिका, प्रदेश र संघीय सरकार तथा जलविद्युत आयोजनाको साझेदारीमा रघुगंगा- ४ को अजिंगर भिरमा चट्टान फुटाउने काम सकिएमा आयोजनाको बाँधसँगै दर्मिजा, चिमखोला र कुइनेमंगले सिधा सडक संजालमा जोडिनेछन् ।


पाँच किलोमिटर लामो सुरुङ हुने आयोजनाको आउटलेटदेखि १५० मिटर तल पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । चिमखोलास्थित रघुगंगा र बगर खोलाको दोभान मलाङमा विद्युतगृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ ।


आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा- ७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना गर्न लागिएको छ । सेनाको क्याम्प बनाउन भवनलगायतका पूर्वाधार निर्माण भइसकेको आयोजनाले जनाएको छ ।  


बाँध, सुरुङ र विद्युतगृह निर्माण एकैसाथ अघि बढाउन लागिएको आयोजनाको भनाइ छ । राहुघाट मंगलेबाट उत्पादन हुने विद्युत २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ ।

 

बाँध निर्माण कार्यको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार शिलान्यास गरेका थिए । ‘राहुघाट मंगलेसँगै राहुघाट र सहायक नदीहरूमा अनुमति लिएका आयोजनाहरूलाई निर्माणका लागि सहजीकरण गरेका छौँ’, उनले भने, ‘स्थानीयलाई सुविधासँगै जलविद्युत आयोजना निर्माणलाई तीब्रता दिन अजिंगर भिरमा सडक निर्माणलाई प्राथमिकता दिएका हौँ ।’


तुदी पावरले राहुघाटमै अर्को ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत विकास विभागबाट अनुमति लिइसकेको छ । कुइनेमंगलेमा राहुघाट नदीको सहायक ठूलोखोलामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माणका लागि संयुक्त ऊर्जा प्रा.लि.ले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माण स्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए ।


राहुघाट नदीमै नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । राहुघाटको करिब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।


म्याग्दी जिल्लामा ६६२ मेगावाट क्षमताका १७ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । दुई मेगावाट क्षमताको तातोपानी साना र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भइसकेका छन् । ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।


११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड, १४ मेगावाटको घारखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला निर्माणाधीन छन् । दाना-खुर्कोट जोड्ने २२० केभी क्षमताका प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट सबस्टेसन र प्रसारण लाइन निर्माणको चरणमा छन् ।