close

बैतडीमा पिसिआर प्रयोगशाला उद्घाटन

बैतडीमा पिसिआर प्रयोगशाला उद्घाटन

Trulli
ADVERTISEMENT

बैतडी - जिल्ला अस्पताल बैतडीमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएको छ । प्रयोगशालाको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेका हुन् ।

 


सुदूरपश्चिम प्रदेश सरकारको करीब ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन् । प्रयोगशाला उद्घाटनपछि अब बैतडीमै कोरोनाको परीक्षण पनि सुरु भएको छ । यसअघि कोरोना परीक्षणका लागि डडेल्धुरा, कैलालीमा स्वाब पठाउनु पर्ने अवस्था रहेकामा अब जिल्लामै कोरोना हुने जिल्ला अस्पतालका प्रमुख डा.डम्मर जंग सिंहले जानकारी दिए ।

 


बैतडीमा पिसिआर प्रयोगशाला स्थापना भएपछि दार्चुला बझाङ लगायतका जिल्लाका नागरिकलाई समेत सहज हुनेछ । कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बैतडी जिल्ला अस्पतालका सबै समस्या समाधान गरिने बताए। उनले भने,‘आगामी दिनमा जनशक्ति, उपकरण र औषधीको अभाव हुन नदिन त्यसको पहल गर्ने छौं ।’

 


अहिले पनि जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर नभएको र उपकरण अभाव रहेकामा आगामी दिनमा क्रमशः हटाइँदै लगिने मन्त्री सुवेदीले बताए ।अस्पतालका लागि शव वाहनको व्यवस्था पनि छिट्टै गरिने उनले जानकारी दिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बैतडीका स्वास्थ्य संस्थाहरूमा भएका समस्याप्रति प्रदेश सरकारको  ध्यानाकर्षण भएको बताइन् । उनले भनिन्, ‘अहिले बैतडीमा एमबिबिएस पढेका नभएकाले पनि दरबन्दीको अभाव देखिन्छ । अघिल्लो वर्ष पनि प्रदेश सरकारले एमबिबिएस पढ्नेलाई अनुदानका लागि भनेर डेढ करोड छुट्याए पनि उक्त रकम फ्रिज भयो ।’

 


उति बेला सरकारी विद्यालयबाट प्रवीणता परीक्षापास गरेकालाई मात्रै अनुदान दिने कार्यविधि भए पनि अहिले त्यसलाई परिमार्जन गरिएको उनले जानकारी दिइन् । ‘हामीले नै डाक्टर पढाउन सक्यौंभने उनीहरूलाई कम्तीमा ७ वर्ष हाम्रै प्रदेशमा काम गर्न लगाइनेछ । अहिले तत्कालका लागि दरबन्दी विहीन अवस्था हटाउन पदपूर्तिका लागि पहल भइरहेको छ । प्रदेश सरकारको सहयोगमा एमबिबिएस पढ्नेलाई सरकारले वार्षिक १० लाख अनुदान दिन्छ ।’

 


पिसिआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको परीक्षणका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए । प्रदेश सरकारले गत चैत १५ मा बैतडीमा पिसिआर प्रयोगशाला स्थापनाको निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला सञ्चालनमाआएको हो ।