close

गाउँपालिकाले नै घर बनाइदिएपछि...

गाउँपालिकाले नै घर बनाइदिएपछि...

Trulli
ADVERTISEMENT

म्याग्दी- धवलागिरि गाउँपालिकाले गत आर्थिक वर्ष ०७६/०७७ मा आवासविहीन ८ परिवारका लागि घर निर्माण गरिदिएको छ । गाउँपालिकाले ४० लाख बजेट खर्च गरेर आवासविहीन परिवारलाई घर निर्माण गरिदिएको हो ।

वर्षौंदेखि टहरामा बस्दै आएका धवलागिरि गाउँपालिका–६ मराङको आरबाङका तुलबहादुर रोका सुरक्षित आवास सुविधा पाएपछि दंग छन् ।  

परिवारमा सात सदस्य रहेका रोकालाई गाउँपालिकाले ‘आवासविहीन जनतासँग वडाध्यक्ष’ कार्यक्रममार्फत घर निर्माण गरिदिएको हो । ‘यसअघि पालले छाएको छाप्रोमा कष्टकर रुपमा बस्दै आएका थियौं’, रोका भन्छन्, ‘आफ्नै घर बनेपछि ढुक्क र सुरक्षित भएका छौं ।’  

आफन्तको घरको एउटा कोठामा बस्दै आएका धवलागिरि गाउँपालिका–२ खोरियाका सुरेश पुनको पनि परिवार गत महिनादेखि आफ्नै घरमा सरेको छ । 

पाँच जनाको परिवार भएका सुरेशका लागि  गाउँपालिकाले दुई कोठे घर र शौचालय निर्माण गरिदिएको छ । भूकम्प प्रतिरोधी घर बनाएर हस्तान्तरण गरिएको धवलागिरि–२ का वडा सदस्य मोतीप्रसाद पाइजा  बताउँछन् ।

‘छिमेकी र आफन्तहरूले श्रमदान गरेर घर निर्माण ग¥यौं । आर्थिक सहयोग पालिकाले दिएको हो’, उनले भने, ‘आफ्नै घरमा बस्न पाउँदा खुसी लागेको छ ।’ 

मच्छिमका तुलकुमारी शेरचन, सोलबाङका भीमबहादुर गुरुङ, मुदीका खगिन घर्ती, खिवाङका बमवीर घर्ती र मुनाका लाटा दमाइको घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

ताकमका डिलबहादुर कामीको घर निर्माण भए पनि पहिरोका कारण भत्किएकाले पुनर्निर्माण गर्नुपर्ने वडाध्यक्ष कलानिधि शर्मा बताउँछन् । गाउँपालिकाले एउटा घर निर्माण गर्न प्रतिघर ५ लाख बजेट उपलब्ध गराएको उनले बताए । 

संघीय र प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नसमेट्ने दलित जातिबाहेकका विपन्न आवासविहीनका लागि धवलागिरि गाउपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष थमसरा पुनले बताइन् । 

‘ताकममा बनाएको एउटा घर पहिरोले पुरिया । फिरन्ते जीवन बिताइरहेका खिवाङका बमवीर र गौमायालाई घरमा  राख्न अलि समस्या भएको छ’, उनले भनिन्, ‘बाँकी ६ परिवार खुसी भएर आफ्नै घरमा बसेका छन् ।’ 

जग्गा भएर पनि आर्थिक अभाव र गरिबीका कारण अरुको घरगोठ, टहरामा बस्नेहरूको पहिचान गरेर सुरक्षित आवासको व्यवस्था मिलाउन कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष पुनले बताइन् ।
 
म्याग्दीका १ सय २० आवासविहीन छनोट

यसैगरी गण्डकी प्रदेश सरकारले म्याग्दीका १ सय २० आवासविहीन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान उपलब्ध गराउन छनोट सुरु गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले आवासविहीनको पहिचान गरी घर निर्माणमा सघाउनेछ । 

जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्षसमेत रहेका प्रदेश सांसद विनोद केसीले बेनी नगरपालिकाका– २१, अन्नपूर्ण गाउँपालिकाका–१४, धवलागिरिका २५, मंगलाका १६, मालिकाका २२ र रघुगंगाका २२ परिवार छनोट भएको जानकारी दिए । घर निर्माणका लागि ६ सय २३ परिवारले आवेदन दिएका थिए ।   

राष्ट्रिय दलित आयोगमा सूचीकृत दलित समुदायका घरविहीनले चार किस्तामा साढे ३ लाख पाउनेछन् । ‘जीर्णावस्थाका घरटहरा, गोठ र ओढारमा बस्नुपर्ने अवस्था हटाउन यस्तो कार्यक्रम ल्याइएको हो’, सांसद केसीले भने । 

कुल रकममध्ये जग खनेपछि २५, डिपिसी गरेपछि ३०, गारो लगाएपछि ३५ र शौचालय निर्माणका साथै छानो हालेपछि अन्तिम दस प्रतिशत दिने व्यवस्था छ । आव ०७४/०७५ मा ६६ र ०७५/०७६ मा ८० वटा घर निर्माण भएका छन् । 

गत वर्ष सम्झौता भएका ९५ मध्य ७१ वटा घर निर्माण सकिएको छ । अनुदान पाउने लाभग्राहीले कार्यालयले बनाएको नक्सा र मापदण्डअनुसार दुई कोठे भवन बनाउनुपर्नेछ । यो संघीय सरकारबाट प्रदेशमा हस्तान्तरित कार्यक्रम हो ।