close

रामचन्द्र पौडेलको घरमा वनमाराको झ्याङ

फाट्टफुट्ट गाउँ आउँछन्, घरमा छिर्दैनन्

रामचन्द्र पौडेलको घरमा वनमाराको झ्याङ

फाट्टफुट्ट गाउँ आउँछन्, घरमा छिर्दैनन्

ADVERTISEMENT

तनहुँ– भत्किएको घरका काठपात लथालिंग छन् । त्यही काठपात र ढुंगा माटोलाई छिचोलेर वनमारा, ऐँसेलु झ्याङ्गिएको छ । पाती फुलेको छ । यहाँनेर घर थियो भन्ने अस्तित्व जोगाउन एउटा कोठाको दुई तल्ला धराप भएरै पनि ठडिएको छ । भत्किएर रहेको बाँकी भाग कुन दिन ढल्ने हो, टुंगो छैन ।


यो दृश्य नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँको घरको हो ।


तनहुँको व्यास नगरपालिका– ८ रिस्ती बेलथुंगी पौडेलको गाउँ हो । गाउँको उनको पुरानो घर भग्नावशेषमा परिणत हुँदै छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गएका परकम्पले जस्ताले छाएको ढुंगामाटोले बनाएको दुई तल्ले घर ढाल्यो ।  


गाउँको पुख्र्यौली घरको नामोनिशान मेटिन लागेपछि पौडेलका छोरा चिन्तनले भत्किएको घरको माथिपट्टि नयाँ घर बनाउने तयारी गरे । जग्गा सम्याएर गत वर्ष घर बनाउने तयारी गरे तर अहिलेसम्म घर ठडिएको छैन ।


‘बाबू चिन्तनले पोहोरै घर बनाउनलाई जग्गा सम्याएका हुन् । खै के मिलेन कुन्नि घर अहिलेसम्म बनाएनन्’, पौडेलको घर नजिकैकी एक जना छिमेकीले भनिन्, ‘हुनत नभ्याएर पनि होला । कोरोना पनि आइहाल्यो ।’  


छिमेकीका अनुसार पौडेलको जन्मथलो त्यही वडाको बाहुन पोखरामा हो । पछि पौडेल परिवार बेँसी (रिस्ती बेलथुंगी) झरेका हुन् । खेतीपातीका लागी सजिलो हुने कारण बाहुन पोखराबाट पौडेलका खलक धेरैजसो यहीँ झरेका छन् ।


सदरमुकाम दमौली बजार (व्यास नगरपालिकाको पनि सदरमुकाम)बाट झण्डै २७ किलोमिटरको दूरीमा पौडेलको घर छ । लमजुङ हुँदै जानुपर्छ बेलथुंगी गाउँ । दमौली बजारबाट व्यासमार्ग हुँदै रिस्ती खोला तरेर लमजुङको दुईपिप्ले, सोती पसल, बगुवा हुँदै रिस्ती खोला तरेपछि तनहुँको बेलथुंगीमा पौडेलको घर छ । यो रुट हुुँदै जाँदा पाँच किलोमिटरजति सडक कच्ची छ । कच्ची सडक धमाधम ग्राभेल हुँदै छ ।


विकासमा सधैँ पछि


उपप्रधानमन्त्री, सभामुख जस्तो उच्चओहोदामा पटकपटक पुगेका पौडेलको गाउँ विकासको केन्द्र बन्नुपर्ने हो तर त्यस्तो  देखिदैन । धीमा गतिमा देखिन्छ पौडेलको घरगाउँमा विकास ।


हिउँद याममा सुख्खा गेग्रान मात्र हुने रिस्ती खोला असार–साउनको वर्षासँगै उर्लिन्छ । उर्लिएको भेलसँग पौँठेजोरी खेल्दै हत्केलामा ज्यानको बाजी राखेर चालकले सवारी तार्नुको विकल्पमा मोटरेबल पुल बन्न सकेको थिएन ।


चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले पौडेलको गाउँ जान लमजुङतर्फको बगुवा र तनहुँतर्फको बेलथुंगी जोड्ने गरी मोटरेबल पुल बनाउन बजेट विनियोजन गरेपछि अघिल्लो महिना धुमधामका साथ शिलान्यास गरियो र अहिले काम भइरहेको छ ।


१० वर्षदेखि कालोपत्रे कुर्दै सडक, गाउँ युवाविहीन


१० वर्षअघि ट्र्याक खोलिएको सडक कालोपत्रे भएको छैन । कृषि उत्पादनका लागि उर्वर भूिमको प्रयोग भएको छैन । गाउँमा त्यतिसारो युवा देखिँदैनन् । अधिकांश युवा रोजगारीको शिलशिलामा विदेशिएका छन् ।


सुविधा खोज्दै शहर ओर्लिएका छन् धेरै । नेताको गाउँ भएर पनि हुनुपर्नेजति विकास नभएको स्थानीय कुलप्रसाद पौडेलले बताए । ‘उहाँ (पौडेल)ले अन्तै विकास गर्नुभयो । यहाँ त केही पनि विकास भएको छैन’, रिस्ती टोल विकास संस्थाका अध्यक्षसमेत रहेका पौडेलले थपे, ‘यहाँको सडक कालोपत्रे भइसक्नुपर्ने हो । ठूलो नेताले केही पनि गर्नुभएको छैन अहिलेसम्म ।’

 

चुनाव हारेपछि गाउँ आउजाउ बढ्यो


पौडेल २०४८ सालको निर्वाचनमा पहिलो पटक तनहुँ– १ बाट सांसद निर्वाचित भए । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ– २ बाट सांसद निर्वाचित भएका उनी त्यसपछि २०५६, २०६४, २०७० मा निरन्तर तनहुँ– २ बाटै निर्वाचित भए ।


२०७४ सालमा भएको निर्वाचनमा तनहुँ– १ मा उम्मेदवार बनेका पौडेल नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पराजित भए । यस अगाडि स्थानीय विकास, कृषि, गृह, उपप्रधानमन्त्री र सभामुखको पदसम्म पड्काएका पौडल गाउँमा कमै आउजाउ गर्थे ।


गत चुनावमा किसानसँग हारेपछि उनमा गाउँको मोह बढी देखिएको छ । चुनावमा हारेपछि गाउँमा आउजाउ बाक्लिएको पौडेलले बताए । उनले भने, ‘उहाँ पहिलेभन्दा धेरै गाउँ आउन थाल्नुभएको छ  ।’


उनका अनुसार पौडेल पछिल्लो पटक गएको वैशाखमा चण्डी पूर्णिमाको बेला गाउँ आएका थिए । त्यसपछि पनि पटकपटक गृह जिल्ला तनहुँ आइरहे । तर, गाउँको घरमा भने पुगेनन् ।  कोरोना महामारी भएकाले पनि होला, उनी गाउँ फर्किएनन् । सदरमुकाम र आसपासमा हुने कार्यक्रममा मात्र केन्द्रित भए ।  


दमौली बजारमा पनि घर


वरिष्ठ नेता पौडेलको सदरमुकाम दमौलीमा पनि घर छ । व्यास नगरपालिका– २ अमरापुरीमा दुई तल्लाको पक्की घर छ । अगाडिको गेट प्रायः बन्द देखिन्छ ।


गेटको बाहिरबाट चिहाएर हेर्दा धुलाम्मे देखिन्छ । गृह जिल्ला आउँदा पनि दमौलीको घरमा बस्दैनन् पौडेल । तर, उनका एक जना छिमेकीका अनुसार भने जिल्ला आउँदा प्रायः पौडेल यही घरमा बस्ने गर्छन् ।


केही वर्ष अगाडिसम्म उक्त घर तनहुँ हाइड्रो पावरलाई भाडामा दिइएको थियो । अमरापुरी टोल विकास संस्थाकी अध्यक्ष सरिता थापाले पनि जिल्ला आउँदा प्रायः पौडेल घरमै बस्ने गरेको सुनाइन् । टोलको विकासका लागि स्थानीयसँग छलफल भने नहुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘यहाँ के छ, कसो छ, सोधपुछ केही हुँदैन ।’


पौडेल हाल काठमाडौंको बोहोराटारको घरमा बस्छन् ।