close

धवलागिरिकाबासीले अब सबै सेवा एकै ठाउँबाट पाउने 

धवलागिरिकाबासीले अब सबै सेवा एकै ठाउँबाट पाउने 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा छरिएका विषयगत शाखा कार्यालय एकीकृत हुने भएका छन् । मुनामा सोमबार सुरु भएको हिउँदेसभाले गाउँपालिकाको कार्यालय भएकै ठाउँबाट शाखा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

 

वडा नम्बर ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको २५ साउन २०७४ को गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नम्बर ७ र ३ बाट सञ्चालन गर्ने निर्णय गरेको थियो । शाखा कार्यालय एकै ठाउँ नहुँदा नागरिकलाई सेवा पाउन सास्ती, झन्झट भएको भन्दै गाउँसभामा कार्यालयमा एकीकृत गर्ने प्रस्ताव लगिएको थियो ।

 

धौलागिरि वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्याल प्रस्तावक रहेको यो प्रस्ताव गाउँसभाका ३७ मध्ये २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो ।  अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्याल प्रस्तावमा तटस्थ बसेका थिए । एक जना गाउँसभा सदस्य सभामा सहभागी भएनन् ।

 

सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा अहिले गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै सञ्चालन हुनेछन् । 

 

सभामा प्रस्तुत भएको वडा नम्बर ७ धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने प्रस्ताव पनि पारित भएको छ । ताकममा पाँच शय्याको अस्पताल स्थापना गर्ने प्रस्ताव पारित गर्न सभाका सदस्यहरूले शाखा कार्यालय एकीकृत गर्ने निर्णय कार्यान्वयनमा सघाउने ताकमका जनप्रतिनिधिको प्रतिबद्धताको सर्त राखेपछि मंगलबारसम्मका लागि सभा स्थगित भएको छ । 

 

स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो । 

 

ठाउँ विवादले १५ मंसिरलाई तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकीकृत र ताकममा अस्पताल बनाउने विषयमा सर्वपक्षीय बैठकको सुझावका आधारमा गाउँसभाबाट निर्णय गरिएको हो । 


गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थमसरा पुनले सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई थाँती राखेर नागरिकलाई एकै ठाउँबाट सहज रूपमा सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत गर्न लागिएको बताइन् । 


‘यसअघिको त्रुटिपुर्ण निर्णयका कारण गाउँपालिकाको कार्यालय र शाखा कार्यालय एकै ठाउँ नहुँदा नागरिकलाई सास्ती भएको देखिएपछि निर्णय सच्याएका हौँ’, अध्यक्ष पुनले भनिन्, । धारापानीबासीलाई पायक पर्ने ठाउँबाट सहज रूपमा स्वास्थ्य सेवा उपभोग गर्ने व्यवस्था मिलाउन स्वास्थ्य चौकी स्थापना गर्ने र ताकममा ५ शैया क्षमताको अस्पताल बनाउन लागिएको उनले बताइन् ।


बजेट संशोधनको प्रस्ताव भने सर्वसम्मत पारित भएको छ । सभामा प्रस्तुत गरिएका प्रस्तावका विषयमा जनप्रतिनिधिहरूको राय र मत बाझिए पनि मत विभाजन गरेरै निर्णय लिइएको हो ।वडा नम्बर १ गुर्जा, २ लुलाङ, ३ मुना र ४ मुदीका जनप्रतिनिधिले शाखा कार्यालय गाउँपालिका भएकै ठाउँबाट सञ्चालन गर्नुपर्ने मत राखेका थिए । 

 

उपाध्यक्ष रेशम छन्त्यालले कार्यकाल सकिन लागेको अवस्थामा विगतमा निर्णय भइसकेको विषयमा पुनः छलफल आवश्यक नरहेको भन्दै शाखा कार्यालय एकीकृत गर्ने प्रस्तावको विषयमा असहमति व्यक्त गरे । कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले गाउँपालिकाकै स्थायी केन्द्रको विषयमा पुनर्विचार गर्नुपर्ने बताए । 

 

ताकमका वडाअध्यक्ष कलानिधि शर्मा, सदस्य अमृता भण्डारीले स्थायी केन्द्रको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा विगतकै निर्णयलाई निरन्तरता दिनुपर्ने विचार राखे । मराङका वडाअध्यक्ष राजाराम शर्माले बैंक र गाउँपालिकाको कार्यालय फरक ठाउँमा हुँदा सास्ती भएकाले बैंक पनि गाउँपालिकासँगै स्थापना गर्नुपर्नेमा जोड दिए । 

 

मुनाका वडाअध्यक्ष पुर्म पुनले नागरिकको सुविधालाई ध्यानमा राखेर सर्वपक्षीय भेलाको सुझावका आधारमा शाखा कार्यालय एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । वडा सदस्य चुनदेवी विकले स्थायी केन्द्र कायम भएको ठाउँ सातमुलेमा १५ रोपनी जग्गा निःशुल्क व्यवस्था गरिएकाले छिटो पूर्वाधार बनाउन माग गरिन् । 

 

मराङका वडा सदस्य लोकबहादुर पुनले गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने गाउँसभामा जनप्रतिनिधिले आफ्नो विवेक प्रयोग गर्न नपाएको गुनासो गरे । लुलाङका वडा सदस्य मतीप्रसाद पाइजाले शाखा कार्यालय एकीकृत गर्न आवश्यक भएको भन्दै प्रस्तावको समर्थन गरे ।

 

गाउँसभाले कर्मचारी पारिश्रमिक शीर्षकको दस लाख रुपैयाँ अन्य सेवाशुल्कमा, गुर्जाको नापी तथा मालपोत शिविरका लागि विनियोजित एक लाख रुपैयाँ गुर्जाको टेलिकम टावरमा आवश्यक सामग्री ढुवानी गर्न र मुदीको आधुनिक मौरीपालन घार वितरण तथा तालिम सञ्चालनका लागि विनियोजित एक लाख रुपैयाँ बगर टेलिफोन टावरमा आवश्यक सामग्री ढुवानीका लागि रकमान्तर गरेको छ । 


यसैगरी बगर स्वास्थ्य इकाइ घेराबार र खानेपानी व्यवस्थापनका लागि विनियोजित सात लाख रुपैयाँ ‘एक घर एक धारा’ खानेपानी योजनाका लागि, ह्युम पाइप खरिदका लागि विनियोजन भएको आन्तरिक स्रोतको आठ लाख रुपैयाँ अन्य भत्तामा र कर्मचारी पारिश्रमिकका लागि विनियोजित आठ लाख रुपैयाँ ह्युम पाइप खरिद शीर्षकमा रकमान्तर गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले जानकारी दिए ।


यस्तै, कर्मचारी पारिश्रमिक शीर्षकमा विनियोजन भएको १ लाख ४८ हजार रुपैयाँ मुना–मुदी मोटरबाटोमा रकमान्तर गरिएको छ ।