close

स्थानीय तहकै पहलमा उदयपुरमा बन्यो कोरोना अस्पताल (भिडियाे खबर)

स्थानीय तहकै पहलमा उदयपुरमा बन्यो कोरोना अस्पताल (भिडियाे खबर)

ADVERTISEMENT

उदयपुर- पहिलो चरणमा देशकै कोरोना इपिसेन्टर बनेको उदयपुरका स्थानीय तहहरू मिलेर कोरोना संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन चौदण्डीगढी नगरपालिकामा स्थायी कोभिड अस्पताल निर्माण सम्पन्न भएको छ । 

 

उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीको नेतृत्वमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेमा अस्पताल बनाउन जिल्लाका ८ वटै वटा स्थानीय तहले लगानी गरेका हुन् ।

 

अस्थायी रूपमा संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर मात्र रहेको चौदण्डीगढीमा ८ वटै स्थानीय तहले संयुक्त रूपमा लगानी गरेर ३ करोड ३३ लाख रुपैयाँ लागतमा ‘स्टिल फ्रेम स्ट्रक्चर’ को अस्पताल भवन बनेको छ । १४ कोठे भवनमा ४० शय्या रहनेछन् ।

 

कोरोना संक्रमित भएको समय यहाँका संक्रमित बिरामीलाई बाहिरका अस्पतालमा लैजाँदा लिन नमानेपछि पाएको झन्झट हटाउन स्थानीय स्तरमै संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पताल बनाइएको हो । 

 

अस्पताल निर्माणका लागि पहिलो चरणमा उदयपुरका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरले १५/१५ लाखका दरले ६० लाख रुपैयाँ, रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङ गाउँपालिकाले १०/१० लाखका दरले ४० लाख गरी १ करोड र स्विट्जरल्यान्ड सरकारको १ करोड ५० लाख रुपैयाँको सहयोग रहेको उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख चौधरीले बताए ।

 

कोभिड अस्पतालमा ८ शय्या भेन्टिलेटरसहित सुविधासम्पन्न, ‘ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र र छुट्टै ओपीडी एवं डाक्टर रुमको व्यवस्था छ । चार महिनाभित्र अस्पताल निर्माण सम्पन्न गर्ने गरी २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउन ठेक्का सम्झौता गरी धुलिखेल र सुसम आदित्य र रेग्मी कन्स्ट्रक्सन जेभीलाई जिम्मा दिएको थियो ।

 

उदयपुर कोभिड १९ अस्पताल (आइसोलेसन सेन्टर) बेल्टार चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । त्यहाँ अहिले अस्थायी रूपमा सञ्चालनमा रहेको कोभिड– १९ अस्पतालमा एक पटकमा ३६ जनाको उपचार गर्न सकिने आइसोलेसन सेन्टर सञ्चालनमा छ । गत ६ असारबाट अस्थायी रूपमा कोभिड १९ अस्पताल सञ्चालन भइरहेको छ । 

 

५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केस्थित नुरी मस्जिदमा एकै दिन ११ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि उदयपुर इपिसेन्टर बनेको थियो ।

 

सर्वसाधारणसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासक र प्रहरी सबै आत्तिन थाले । उपचार गर्ने व्यवस्था काठमाडौँ, धरान र विराटनगरमा मात्र भएकाले अकालमा मर्नुपर्ने त्रास देखेका नागरिकले उदयपुरमै कोभिड अस्पताल खोल्नुपर्ने माग गरे । 


जनताको मागअनुसार गाईघाटमै अस्पताल खोल्न त्रियुगा नगरप्रमुख चौधरीलगायत जनप्रतिनिधिले सरकारको ध्यानाकर्षणसमेत गराए । तर, संघ र प्रदेश सरकार आफैँ आत्तिएको अवस्था थियो । 

 

पटक–पटक माग गर्दा पनि बेवास्ता भएपछि जिल्लाका सबै स्थानीय तह मिलेर उदयपुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरी चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेलटार सातधारेस्थित सशस्त्र प्रहरी बलका लागि निर्माणाधीन ब्यारेक क्षेत्रमा आइसोलेसन केन्द्र सुरु गरियो ।

 

अपांग तथा बालमैत्री भवनमा ९ वटा फराकिला कोठा छन् भने पुरुष, महिला र अपांगतामैत्री शौचालय, खानेपानी र विद्युत् व्यवस्था गरिएको छ । अस्पतालका ८ वटा कोठा प्रत्येकमा ४ वटाका दरले ३२ शय्या तयार गरिएको छ । 

 

नवनिर्मित भवनको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापेलरले संयुक्त रूपमा उद्घाटन गरे ।