close

आमाको नामबाट नागरिकता पाएपछि हुर्कदै छ लाहुरे सपना

आमाको नामबाट नागरिकता पाएपछि हुर्कदै छ लाहुरे सपना

Trulli
ADVERTISEMENT

गुल्मी- संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भए पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिदा वर्षौ समस्यामा परेका थुप्रै छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीका अनुसार गुल्मीमा पछिल्लो दुई वर्ष आमाको नामबाट नागरिकता पाउने दुई जना मात्रै छन् । 

 

बुबाको ठेगान नभएका रेसुंगा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय राम-लक्ष्मण भण्डारीले दुई वर्षको संघर्षपछि मंगलबार जिल्ला प्रशासनबाट नागरिकता पाएका हुन् । २०५९ सालमा जन्मिएका जुम्ल्याहा दुई दाजुभाइकी ५२ वर्षीय आमा भवि भण्डारी बोल्दिन् । दुई दाजुभाइ आमासहित मावलीमै हुर्किए । 

 

राम÷लक्ष्मणलाई हजुर बुबा ७९ वर्षीय बलराम भण्डारीले अहिलेसम्म पालनपोषण र शिक्षादीक्षा दिँदै आएका छन् । जुम्ल्याहा दाजुभाइ अहिले महेन्द्र नमुना माविको कक्षा १२ मा अध्ययन गरिरहेका छन् । बाउको ठेगान नभएका जुम्ल्याहा दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता दिएको थिएन । 

 

रेसुंगा नगरपालिका वडा नम्बर १ वडा कार्यालयको मुचुल्का र सिफारिस, जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रतिवेदन र सनाखत तथा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले ७ पुस २०७७ मा राम-लक्ष्मणलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । 

 

नागरिकताका विषयमा भण्डारी परिवारमा नयाँ आशा थिएन । यो परिवार, नेता र अधिकारकर्मी, प्रशासनका अनेक अल्झन र प्रक्रियाका कारण आजित थियो । संयोगले डेढ महिनाअघि अधिवक्ता गणेश श्रीपाली भेट हुनु नै भण्डारी परिवारका लागि सौभाग्य बन्यो । उनलाई राम-लक्ष्मणले नागरिकता नपाएको पीडा सुनाए ।

 

श्रीपालीलाई परिवार र दुई दाजुभाइको आँखाबाट झरेका आँसुले पीडा बोध बनायो । त्यसपछि संविधानको व्यवस्था, सर्वोच्चको नजिर, पितृत्वको ठेगान नलागेर आमाबाट नागरिकता पाएका केही उदाहरणसहितका प्रमाण लिएर श्रीपाली जिल्ला प्रशासन कार्यालय पुगे । प्रशासनलाई सजिलै आमाको नामबाट नागरिकता दिने विषयमा सहमत गराउन सफल भएको श्रीपाली बताउँछन् ।

 

आमाको नामबाट नागरिकता नपाएर समस्यामा परेका जिल्लामा थुप्रै छन् । संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भए पनि जिल्ला प्रशासनले अनेक कारण देखाएर फिर्ता गर्ने गरेको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले गुनासो गरे ।

 

‘दुई वर्ष नागरिकता नपाएर भण्डारी परिवार समस्या पर्‍यो । सोही काम अहिले बन्यो,’ पाण्डेयले भने, ‘मुडअनुसार हुने कामले नागरिकलाई सास्ती भएको छ ।’ जुम्ल्याहाका हजुरबा बलरामको पुख्र्यौली घर बाग्लुङ साविक देवीस्थान गाविस हो । उनी २०४५ सालमा बसाइँ सरेर तम्घास आएका हुन् । 


बजारमै होटल सञ्चालन गर्ने उनकी छोरी भवि अपांग थिइन् । कहिले र कोबाट गर्भवती भइन्, परिवारलाई पत्तै भएन । दुई जुम्ल्याहा बच्चा जन्मिए । परिवारको आर्थिक अवस्था बलियो थिएन । उनी २०७३ सालबाट प्यारालाइसिसपीडित छन् ।

 

हजुबा भण्डारी भन्छन्, ‘म बुढेसकालमा प्यारालाइसिसपीडित भएँ । त्यसैमाथि नातिहरू र छोरी अलपत्र हुँदा साह्रै समस्या छ । नातिहरूले दुई वर्ष लडेर नागरिकता पाउँदा खुसीका आँसुले आँखा भरिए ।’  राम-लक्ष्मणको उमेर नहुने बेलासम्म बाबु नभए पनि खासै फरक परेन । मावलीमै हुर्किए । जब उमेरले १६ पुगे, तब नागरिकता आवश्यक पर्न थाल्यो । 

 

संविधानअनुसार भण्डारी दाजुभाइ सजिलै नागरिकता पाउनेमा आशावादी थिए । ‘पहिले त्यही प्रशासन कार्यालयले संविधानको व्यवस्था र हामी दुवैलाई हेरेन । दुई वर्ष साह्रै दुःख पायौँ,’ रामले भने, ‘अहिले उसैले नागरिकता दियो ।’

 
‘नागरिकता नदिँदा जन्मिएकामा पीडाबोध’

 

संविधानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरे पनि राम-लक्ष्मणले दुई वर्ष संघर्ष गरे तर पाएनन् । गुल्मी कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठसहित नागरिक समाज र स्थानीय तथा जिल्ला स्तरका थुप्रै व्यक्तिहरूको पहलमा पनि नागरिकता नबनेपछि भण्डारी परिवार पिरलोमा थियो ।

 

‘उमेरअनुसार बैंक, कार्यालय र क्याम्पसमा नागरिकता माग्थे । दिने जवाफ थिएन,’ लक्ष्मणले भने, ‘नागरिकता देखाउन नसक्दा जन्मिएकैमा पछुतो महसुस हुन्थ्यो ।’ कैयाैँ पटक अवसर आए पनि नागरिकता नभएकै कारण गुमेको जुम्ल्याहा दाजुभाइ सुनाउँछन् ।

 

अहिले भने दुवै जना भारतीय सेनामा भर्ती हुने योजनामा छन् । ‘प्रशासनमा नागरिकता माग्दा कानुन आएको छैन, कुर्नुस् भन्थे । उमेरले अवसर गुम्दै गए,’ रामले भने, ‘घरको अवस्थाले नागरिकतापछिको पहिलो उद्देश्य जागिर खाने नै हो ।’