close

गाउँपालिकाले ल्यायो कृषक पेन्सन कार्यक्रम, तीन खाले परिचयपत्र 

गाउँपालिकाले ल्यायो कृषक पेन्सन कार्यक्रम, तीन खाले परिचयपत्र 

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ । व्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्धारा उच्च एवं दिगो आर्थिक विकास हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्ने पेन्सन (प्रोत्साहन भत्ता) सुरु गरेको गाउँपालिका प्रमुख मधुकृष्ण पन्थले जानकारी दिए । 


नवौ गाउँ सभाबाट ‘कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यक्रम संचालन कार्यविधि’ पारित गरिएको छ । पन्थका अनुसार यो कार्यक्रम मार्फत कृषिमा यान्त्रीकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षण सम्बर्द्धन एवं सदुपयोग गर्ने र छत्रकोट गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने उपेक्षा गाउँपालिकाको छ ।  


गाउँपालिकाले पेन्सन पाउने कृषकलाई तीन वर्र्गमा विभाजन गरेको छ । ‘क’ वर्गको कृषकलाई हरियो, ‘ख’ वर्गको कृषकलाई निलो र ‘ग’ वर्गको कृषकलाई पहेंलो परिचय पत्रको व्यवस्था गरिएको गाउँपालिका उपप्रमुख नर्मदा भण्डारीले जानकारी दिइन् । 

 

कृषकले वर्ग अनुसार पेन्सन प्रदान गर्नेछन् । उनले अहिले डाटा संकलन भएकाले वास्तविक कृषक पहिचानपछि कार्यविधि संसोधन गरेर वर्ग अनुसार पेन्सन (प्रोत्साहन भत्ता) तोक्ने बताइन् ।

 

कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनौट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको उपप्रमुख भण्डारीले बताइन् । 


कार्यविधि अनुसार पशुपंक्षीको हकमा ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायिक फर्ममा गाईभैसी पाँच माउ, बाख्रा २५ माउ, बंगुर १० माउ, कुखुरा बोइलर प्रजाति पाँच सय, मौरीसहित मौरी घार २० र टर्की १ सय स्थानीय हाँस २ सय ५० हुनुपर्नेछ । 


कृषि तर्फ ‘क’ वर्गमा हुनको लागि उत्पादन दिने कागती, सुन्तला, अमिलो, आँप, लिची जातका १ सय बोट, उत्पादन दिने तरकारी टर्नेल १०, च्याउ घर टनेल ५, बिजवृद्धि ५ रोपनी, कफी ५ रोपनी, उखु १० रोपनी, खाद्यान्य २५ रोपनी र केरा भुईँकटर प्रजाति १ हजार बोट हुनुपर्ने व्यवस्था कार्यविधिमा बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए । 


पशुपंक्षी हकमा ‘ख’ वर्गको लागि गाईभैसी ४ माउ, बाख्रा १५ माउ, बंगुर ७ माउ, बोइलर कुखुरा प्रजाति ३ सय, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १ सय ५० हुनुपर्नेछ ।

 

त्यस्तै कृषिको हकमा ‘ख’ वर्गको लागि उत्पादन दिने कागती, सुन्तला, अमिलो आँप, लिची जातका ७० बोट, उत्पादन दिने तरकारी टर्नेल ७, च्याउ घर टर्नेल ३, बिजवृद्धि ३ रोपनी, कफी ३ रोपनी, उखु ७ रोपनी, खाद्यान्य २० रोपनी र केरा भुईकटर प्रजाति ७ सय बोट आवश्यक पर्ने प्रशासकीय अधिकृत भण्डारीले बताए ।

 

गाईभैसी ३ माउ, बाख्रा १० माउ, बंगुर ५ माउ, बोइलर कुखुरा प्रजाति २ सय, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १ सय भएका पशुपंक्षीको हकमा ‘ग’ वर्गमा पर्नेछन् ।

 

कृषिको हकमा ‘ग’ वर्ग लागि उत्पादन दिने कागती, सुन्तला,अमिलो-आँप-लिची जातका ५० बोट, उत्पादन दिने तरकारी टनेल ५, च्याउ घर टनेल २, बिजवृद्धि २ रोपनी, कफी २ रोपनी, उखु २ रोपनी, खाद्यान्य ५ रोपनी र केरा भुईँकटर प्रजाति ५ सय बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।