close

लुलाङ र गुर्जावासीको गाडी चढ्ने रहर अधुरै

लुलाङ र गुर्जावासीको गाडी चढ्ने रहर अधुरै

Trulli
ADVERTISEMENT

म्याग्दी– एउटै वडाका तीनवटा वस्तीको विवादले म्याग्दीको धवलागिरि गाउँपालिका– २ मा सडक निर्माण योजना अलपत्र परेको छ । खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादले ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि सडक निर्माण सुरु भएको छैन ।


पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिर क्षेत्रमा सडक निर्माणका लागि २०७६ पुस पहिलो हप्ता ठेक्का लगाएको थियो ।


एक करोड ४९ लाख रुपैयाँ लागत अनुमान गरिएको योजना काठमाडौंको बीएन कन्स्ट्रक्सनले ७८ लाख ९९ हजार ३१० रुपैयाँमा ठेक्का लिएको थियो । २०७७ असार मसान्तसम्म सम्झौताको म्याद भए पनि अहिलेसम्म काम सुरु नहुँदा आयोजना अन्योलमा परेको कार्यालयले जनाएको छ ।


६४९.५ घनमिटर ग्याबियन पर्खाल लगाउने, एक हजार ५०० मिटर कडा चट्टान काट्ने, ७४ हजार घनमिटर माटो कटिङ गर्ने र दुईवटा स्ल्याब कल्भर्ट बनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

 

बीएन कन्स्ट्रक्सनका संचालक नारायण जीसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले काम गर्न नसकेको बताए । ‘सम्झौतालगत्तै डोजर र प्राविधिक काम गर्न साइटमा गएका थिए’, उनले भने, ‘विवादित ठाउँमा काम गरेमा डोजर जलाउने, प्राविधिक र मजदुरलाई आक्रमण गर्ने धम्की आएपछि काम नगरी फर्किन बाध्य भयौँ ।’


लुलाङ र लमसुङका बासिन्दाले महतलादेखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गरेका छन् । खोरियाका बासिन्दाको महतलादेखि खोरिया हुँदै लमसुङ–लुलाङ हुँदै गुर्जातर्फ जाने सडक बनाउनुपर्ने अडान छ ।


लुलाङका बासिन्दासमेत रहेका वडा अध्यक्ष गमबहादुर विश्वकर्माले खोरियाको सडक घुमाउरो भएकाले महतलाबाट छुट्टै सडक बनाउनुपर्ने स्थानीयको माग रहेको बताए ।


‘यसअघि महतलाको भिरभन्दा अघिबाट लमसुङ जोड्ने सडक खन्ने सहमति खोरियाका बासिन्दाले कार्यान्वयन गर्नुभएन’, उनले भने, ‘अहिले महतलाभन्दा तलबाट सडक खन्न गाउँपालिकाले बजेट विनियोजन गरे पनि खोरियाबासीले जग्गा दिन मान्नुभएको छैन ।’

 

महतलामा करिब १०० मिटर चट्टान छिचोलेपछि खोरिया हुँदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् । भिरमा प्रदेश, खोरियादेखि मरेनी हुँदै ढोरपाटनको जलजलातर्फ संघीय र महतलादेखि लमसुङ–लुलाङ हँुदै गुर्जातर्फ जाने सडक खन्ने विकल्पमा छलफल भए पनि सहमति जुट्न नसकेको वडा अध्यक्ष विश्वकर्मा बताउँछन् ।


महतलाको अप्ठ्यारो भिरलाई छाडेर संघीय सरकारको सडक डिभिजन कार्यालय बाग्लुङले खोरिया हुँदै कासम खोलासम्म साढे तीन किलोमिटरभन्दा बढी सडक खनिसकेको छ । खोरियावासीले चन्दा संकलन गरेर ढोरपाटन जाने मूल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्र्याक पनि खनिसकेका खोरियाको जलजला युवा संरक्षण क्लबका अध्यक्ष प्रजित पुर्जाले बताए ।


‘खोरियाभन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगे पनि महतलाको भिरमा सडक नबन्दा यातायात सुविधाबाट बञ्चित भएका छौँ’, उनले भने, ‘महतलाको भिरमा ट्र्याक खुल्ने हो भने गाडी चल्ने थियो । आवतजावत र ढुवानीमा सहज हुने थियो ।’


खोरियाका भविराज पुर्जा धेरै बजेट आवश्यक पर्ने र लमसुङको नजिकै पहिरो सक्रिय भएकाले अहिलेलाई घुमाउरो भए पनि खोरियाकै सडक प्रयोग गर्दा उपयुक्त हुने धारणा राख्छन् । सडक भए पनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् ।


पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले गाउँपालिकामार्फत विवाद समाधान गर्न पहल गरे पनि सफल नभएको बताउँछन् । कतिपय स्थानीयले अस्वाभाविक रूपमा घटेर ठेक्का लिएका ठेकेदारले भिरमा सडक खन्दा नाफा नहुने देखिएपछि विवाद सिर्जना गरी योजनालाई असफल बनाउन चलखेल गरेको आरोप लगाएका छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो ।


विवाद समाधानका लागि विभिन्न विकल्पमा छलफलको माध्यमबाट सहमति जुटाउने प्रयास जारी राखेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । ‘छोटो सडकको चाहना राख्नु लमसुङ र लुलाङका बासिन्दाको मागलाई पनि अन्यथा मान्नुहुँदैन’, उनले भनिन्, ‘सबैले एउटै सडक प्रयोग गरे मितव्ययी हुने थियो ।’


पूर्वाधारले अन्यत्र काम गरे गाउँपालिकाले बजेट व्यवस्था गरेर भिरमा सडक खन्ने उनले बताइन् । पूर्वाधारले चालू आर्थिक वर्षमा महतलामै दुई हजार घनमिटर चट्टान फुटाएर सडक खन्न अर्को ठेक्का सम्झौताको तयारी गरेको छ ।


गाउँपालिकाले लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माणका लागि विनियोजन गरेको ४० लाख रुपैयाँ बजेट पनि कार्यान्वयन हुन सकेको छैन । सडक निर्माणको विषयमा जनप्रतिनिधिसमेत विभाजित भएका छन् । लुलाङ र लमसुङमा २०० भन्दा बढी तथा खोरियामा १०० घरधुरीको बसोबास छ ।