close

ऋषिङका पर्यटकीय गन्तव्य चिनाउन म्याराथन

ऋषिङका पर्यटकीय गन्तव्य चिनाउन म्याराथन

Trulli
ADVERTISEMENT

तनहुँ– वैश्विक महामारीको रूप लिएको कोरोना भाइरसलाई मान्छेले बेवास्ता गर्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परीक्षण दर पनि घटेको हो ।


कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् तैपनि पर्यटकको मन पहिलाको जस्तो घुमफिरमा खुलेको छैन । कोरोनाको प्रभावले भर्खरभर्खर पर्यटनमा वामे सार्दै गरेका क्षेत्र शिथिल अवस्थामा छन् ।


कोरोनाको महामारीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको ऋषिङ गाउँपालिकाले पहिलो पटक ऋषिङ म्याराथनको आयोजना गरेको छ । २७ पुसमा गाउँपालिकामा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न म्याराथन हुने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ इतिहास बोेकेको थलो हो ।


‘सम्भावना बोकेका धेरै गन्तव्य ओझेलमा परेका छन्’,  उनले भने, ‘खेलकुदको माध्यमबाट तीन गन्तव्यको प्रवद्र्धनमा जुटेका छौँ ।’


अध्यक्ष श्रेष्ठका अनुसार खुला, स्थानीय र महिला गरी तीन विधामा दौड हुनेछ । खुलातर्फ ४० किलोमिटर दूरीमा धावकहरू दौडिनेछन् । ऋषिङ गाउँपालिका– ८ मा  पर्ने ऐतिहासिक थलो ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट सुरु हुने दौड ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख गाउँपालिकाको कार्यालय हुँदै ऋषिङ– ३ को दुबुङ भ्यू टावरमा पुगेर अन्त्य हुनेछ ।


यस विधामा प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सान्त्वना हुने तीन जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


स्थानीय दौड ऋषिङ गाउँपालिका– ८ मा रहेको ऐतिहासिक स्थल गढीकोटबाट ऋषिङ गाउँपालिका– ६ मा रहेको ज्यामिरे माई मन्दिरसम्म १० किलोमिटरको दूरीमा हुनेछ । यो दूरीको दौडमा प्रथम हुने धावकले नगद १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


महिला दौड चार किलोमिटर दूरीमा हुनेछ । ऋषिङ– ८ गढीकोटदेखि ऋषिङ– ७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडिनेछन् । यस विधामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ, दोस्रोले आठ हजार रुपैयाँ, तेस्रोले पाँच हजार रुपैयाँ पाउनेछन् ।