close

वालिङमा जग्गा नापजाँच गर्न अब डिजिटल प्रविधि

वालिङमा जग्गा नापजाँच गर्न अब डिजिटल प्रविधि

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकामा डिजिटल प्रविधिबाट जग्गा नापजाँच कार्य थालिएको छ । विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरूद्वारा डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम थालेको नापी टोली प्रमुख ज्योति शाहले बताइन् ।


डिजिटल प्रविधिको प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, व्यक्तिका फरकफरक रहेका टुक्राटुक्री जग्गाहरूको तथ्यांक एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने टोली प्रमुख शाहको भनाइ छ ।


‘पहिला फित्ता लिएर जग्गा जमिनमै जानुपर्ने अवस्था थियो, उक्त विधिप्रति विवाद पनि देखिन्थ्यो’, टोली प्रमुख शाहले भनिन्, ‘डिजिटल प्रविधिको प्रयोगले साँध सँधियारहरूले हचुवाका भरमा देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुनेछ ।’


जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरू डिजिटल प्रविधिको प्रयोगसँगै हराउँदै जाने टोली प्रमुख शाहले जानकारी दिइन् ।


वालिङ- १ बाट सुरु गरिएको नापजाँच कार्यलाई जिल्लाका अन्य तहहरूमा पनि पु¥याइने बताइएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरू देखिएमा भूमि व्यवस्था ऐन तथा नियमअनुसार निरूपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले बताइन् ।


डिजिटल प्रविधिबाट जग्गा नापजाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगरप्रमुख दिलीपप्रताप खाणको भनाइ छ ।


जमिनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकताअनुसार अनलाइन प्रणालीबाट विवरणहरू लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको मागअनुसार अगाडि बढेको उनले बताए ।


‘विगतमा फित्ता लिएर जग्गा नापी गर्दा शत प्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरू देखिन्थे’, नगरप्रमुख खाणले भने, ‘व्यक्तिगत तथा सार्वजनिक जग्गाहरूको यथार्थ स्थिति पत्ता लागउन र विश्वसनीयता बढाउन तथा साँध सँधियारबीच विवादरहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।’ 


विशेष नापी टोलीले जग्गा नाप्ने कार्य थालेकोमा खुसी व्यक्त गर्दै नापजाँचका क्रममा विवादहरू आइपरेमा सहजीकरण गर्ने नगरप्रमुख खाणले बताए ।