close

जलजलामा पुग्यो स्वास्थ्य सेवा 

जलजलामा पुग्यो स्वास्थ्य सेवा 

Trulli
ADVERTISEMENT

म्याग्दी- पर्वतको जलजला गाउँपालिका वडा नम्बर- ५ फलामेडाँडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ । वडास्तरको स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने दुर्गमका बासिन्दामा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउन जलजला गाउँपालिकाले इकाइ स्थापना गरेको हो । 

 

फलामेडाँडामा स्व. बहुमती पुनको स्मृतिमा उनका परिवारले निर्माण गरेको खोप केन्द्रको भवनमा स्थापना भएको इकाइको बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले उद्घाटन गरे । 

 

स्वास्थ्य इकाइबाट साविक लेकफाँट गाविस वडा नम्बर- ४ का कुवापानी, लोप्रे, डाँडाकटेरी, वनबढेका करिब २०० घरधुरी लाभान्वित भएको स्थानीय पुर्ख पुर्जाले बताए । यहाँका बासिन्दालाई गिद्धेश्वरमा रहेका स्वास्थ्य चौकीमा पुग्न र फर्कन २ घन्टाभन्दा बढी समय लाग्ने गरेको थियो । 


एक जना अनमीको दरबन्दी भएको इकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु बोहराले जानकारी दिए । स्व. पुनको नाममा निर्माण भएको भवन प्रयोग गरिएकाले बहुमती सामुदायिक स्वास्थ्य इकाइ नामकरण गरिएको छ । 


स्वास्थ्य कार्यालय पर्वतको २ लाख र बहुमतिका परिवारको १९ लाख २५ हजार रुपैयाँ लागतमा फलामेडाँडामा २ कोठे खोप केन्द्र भवनका साथै पाहुनाघरसमेत निर्माण भएको छ । 


स्वास्थ्य इकाइ उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तिलक जीसी, गाउँ कार्यपालिका सामाजिक विकास समिति संयोजक गोविन्द खत्रीलगायतका जनप्रतिनिधि उपस्थित थिए । 

 

जलजलाले यस वर्ष वडा नम्बर- २ माझफाँट र वडा नम्बर- ८ फर्सेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिरहेको छ । वडा नम्बर- ४ फट्केढुंगामा केन्द्र स्थापनाको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।