close

किसानका दुःखः बारीमै कुहिन थाल्यो तरकारी

किसानका दुःखः बारीमै कुहिन थाल्यो तरकारी

Trulli
ADVERTISEMENT

सुर्खेत– कोरोना महामारीका कारण बन्द भएको हाटबजार दस महिनासम्म पनि नखुल्दा किसानको तरकारी बारीमै कुहिन थालेको छ ।


पञ्चपुरी नगरपालिकाकोे बाबियाचौरमा हरेक शनिबार सञ्चालन हुँदै आएको कृषि हाटबजार बन्द भएको दस महिना बितिसक्दा पनि सञ्चालन हुन नसकेको हो ।


कोरोना महामारीका कारण बन्द गरिएको कृषि तथा पशु हाटबजार गत वर्षको चैतदेखि बन्द भएको थियो । प्रत्येक शनिबार सञ्चालन हुने हाटबजारमा स्थानीय कृषकको उत्पादन र पशुहरू किनबेच हुने गथ्र्यो ।

 

‘हाटबजार सञ्चालन भएपछि उत्पादित तरकारी बिक्री हुन्थ्यो । घरखर्च चल्थ्यो । अहिले त नियमित व्यापार हुन छाड्यो । बारीमा लगाएको तरकारी पनि कुहियो’, स्थानीय लक्ष्मी बयकले भनिन् ।


हाटबजारमा बराहताल, पञ्चपुरी र चौकुनेका व्यापारी खरिदारी गर्न आउँथे । नगरपालिकाले कोरोना महामारीका कारण हाटबजार बन्द गराए पनि भेला, गोष्ठी भने नियमित चलिरहेका छन् ।
दैनिक हाटबजारमा आउने कृषक व्यापारीबाट वडा नम्बर ५ ले आन्तरिक कर उठाउँदै आएको छ ।


पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले हाटबजार सञ्चालनका लागि अर्काे नगर कार्यपालिका बैठक कुर्नैपर्ने बताए । ‘कार्यपालिका बैठकमा छलफल गरी हाटबजार सञ्चालनको विषय टुंग्याइनेछ’, बुढाले भने । कृषि हाटबजार सञ्चालन हुने ठाउँ अहिले जताततै फोहोर र पशु चरन स्थल बनेको छ ।