close

जन्तेढुंगामा सुन्तला मेला

जन्तेढुंगामा सुन्तला मेला

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ नारासहित दुई दिने सुन्तला महोत्सव शनिबारबाट सुरु भएको हो ।


जन्तेढुंगाको घोर्लेमा उत्पादित सुन्तलाको प्रचार–प्रसार गरेर कृषकको आम्दानी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष शंकर राईले बताए । 


महोत्सवमा सुन्तलाको जुस, वाइन, स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रम, साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगिता, राई पुमाको धार्मिक तथा साँस्कृतिक वस्तु प्रदर्शनी गरिनेछ ।


जन्तेढुंगाको मुख्य प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सिर्जनशील आमा समूह, तिनतले कोलाताङ सामुदायिक वन घोर्लेको सह–प्रायोजनमा स्थानीय प्रगतिशील कृषक समूह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव आयोजना गरिएको हो ।


सुन्तला महोत्सव प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । घोर्ले जन्तेढुंगाको सुन्तला उत्पादन पकेट क्षेत्र हो । घोर्लेबाट वार्षिक १ करोड रुपैयाँभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ ।