close

गुल्मीमा ११ स्थानीय तहका ४९ विद्यालय समायोजन (भिडियाे खबर)

१० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय पूरै बन्द

गुल्मीमा ११ स्थानीय तहका ४९ विद्यालय समायोजन (भिडियाे खबर)

१० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय पूरै बन्द

ADVERTISEMENT

गुल्मी- गुल्मीमा ४९ वटा विद्यालयहरू समायोजन गरिएको छ । ४७ वटा विद्यालयको कक्षा घटाइएको छ । समायोजनामा १७ संस्थागत विद्यालयहरू समायोजन भएका छन् । तीमध्ये एक मावि, ८ निमावि र ८ प्रावि छन् । त्यस्तै, ३२ सामुदायिक विद्यालयहरू समायोजन गरिएको छ । 


जिल्लाका ८ स्थानीय तहले ३२ सामुदायिक विद्यालय समायोजना गरेको शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । जिल्लाका मदानेबाहेक ११ स्थानीय तहले विद्यालय समायोजन प्रक्रिया अगाडि बढाएका थिए । मदानेले विद्यालय समायोजन र कक्षा घटाउने कुनै काम गर्न सकेको छैन । 


समायोजनका कारण १० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय पूरै बन्द भएका छन् । गुल्मी दरबार गाउँपालिकामा १-१० पढाइ हुने गौरी शंकर इङ्लिस बोर्डिङ स्कुल इश्वरी माविमा पूरै समायोजना गरको छ भने ४ संस्थागत र २ सामुदायिक विद्यालय खाली भएका छन् । 


त्यस्तै, धुर्कोट गाउँपालिकाले पनि सामुदायिक र संस्थागत गरेर ९ वटा विद्यालय समायोजन गरेको छ, जसका ५ वटा संस्थागत विद्यालय पूरै खाली भएका छन् । मुसिकोट नगरपालिकाले ७ वटा सामुदायिक विद्यालय समायोजन गरेर पूर्ण रूपमा बन्द गरेको छ भने ६ वटा विद्यालयको कक्षा घटाएको मरासिनीले जानकारी दिए । 


रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिकाका एक/एकवटा संस्थागत विद्यालय मात्र समायोजन गरिएको छ । चन्द्रकोट गाउँपालिकाले ५ वटा विद्यालय पूरै समायोजन गरेको र ९ वटा विद्यालयमा कक्षा घटाएको छ । इस्मा गाउँपालिकाले पनि १५ विद्यालयमा समायोजन र कक्षा घटाएकोे छ । 


गाउँका नागरिक शहर केन्द्रित भएकाले विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको छ । विद्यार्थी संख्या कम हुनु नै विद्यालय समायोजन र कक्षा घटाउनुको मुख्य कारण हो । दूरी र भौगोलिक अवस्थालाई पनि समायोजनको अर्को कारण मानिएको छ ।

 

केही ठाउँमा नजिक-नजिक विद्यालय छन् भने केही ठाउँमा भौगोलिक हिसाबले विद्यालय पुग्न विद्यार्थीले घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । विद्यार्थी र साधन स्रोतले कमजोर विद्यालयका कारण गुणस्तरीय शिक्षामा प्रभाव पर्ने भएकाले पनि समायोजनको अर्को विकल्प नभएको धुर्कोट गाउँपालिकाका प्रमुख भूपाल पोख्रेलले जानकारी दिए । 


शिक्षा मन्त्रालयले आर्थिक सहायताको लोभ देखाएर समायोजन प्रक्रिया थालेको हो । यो शिक्षक दरबन्दी, संरचना र विद्यार्थी संख्याको आधारमा कमजोर सामुदायिक तथा संस्थागत विद्यालयका लागि एउटा अवसर पनि हो भने केहीले आर्थिक प्रलोभनकै कारण समायोजन गरेका छन् । 


समायोजन हुने कक्षाका लागि शिक्षा मन्त्रालयले प्रतिकक्षा ५ लाख रुपैयाँ अनुदानको व्यावस्था गरेको छ । तर, समायोजन भइसकेका सामुदायिक तथा संस्थागत विद्यालयलाई मन्त्रालयले अहिले केही पनि दिन सकेको छैन, जसका कारण विद्यालय संचालन समितिमा अन्योल छाएको ठाढुंगा मावि विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भुसालले गुनासो गरे ।


गुल्मीका ७ वटा स्थानीय तहका ४७ वटा विद्यालयको कक्षा घटाइएको छ । मालिका गाउँपालिकाले सबैभन्दा बढी १६ वटा विद्यालयको कक्षा घटाएको छ । स्थानीय तहको समायोजनको तथ्यांकका आधारमा घटेका कक्षाहरू प्राय २, ३, ४ का छन् । 


सुरुमा समुदायले नै खोलेका विद्यालयहरू भएकाले उनीहरूकै अनुरोधमा पूर्ण बन्द गर्न स्थानीय सरकारलाई पनि चुनौती बनिरहेको छ, जसका कारण अधिकांश स्थानीय तहले एक कक्षा मात्र भए पनि समुदायमा कामय गरिरहेका छन् ।