close

पञ्चेश्वरको ६ हजार मेघावाट बिजुली गाथाः पत्याउनै छाडे स्थानीयवासी

पञ्चेश्वरको ६ हजार मेघावाट बिजुली गाथाः पत्याउनै छाडे स्थानीयवासी

Trulli
ADVERTISEMENT

बैतडी– केही दिन अघि नेपाल–भारत सचिवस्तरीय बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका बिषयमा सहमति भएको खबरप्रति स्थानीयहरु खासै खुसी छैनन् ।


पञ्चेश्वर आयोजना लामो समयदेखि निर्माण हुन नसकेको र यस्ता खालका समाचारहरु मात्रै आइरहेकाले आफूहरुलाई आयोजना बन्छ भन्ने कुरामा विश्वास नलागेको पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष दशरथ मंगोला बताउँछन् ।

 

‘पञ्चेश्वर आयोजना हाम्रो लागि आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ । मैले पनि विभिन्न सञ्चारमाध्यममा पञ्चेश्वरका बिषयमा सहमति भयो भन्ने सुने यी कुराहरु पहिला पनि सुनिन्थे । खासै अगाडि बढ्ला जस्तो मलाई लाग्दैन्,’ उनी भन्छन् ।

 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणको चर्चा चलेको ३ दशक बढी भइसक्दा समेत काम अगाडि नबढेकाले यो आयोजना निर्माण हुने कुरामा आफूहरुलाई अझै पनि आशंका रहेको स्थानीय शिक्षक शुक्रबहादुर चन्द बताउँछन् ।

 

‘हामीले सानो छदै यो आयोजनाको बारेमा सुनेका थियौं । तर अहिलेसम्म काम अघि बढ्न सकेको छैन’, उनी भन्छन्, ‘अहिले भएको भनिएको सहमति पनि कार्यान्वयन हुने कुरामा हामी सशंकित छौं । यस्ता सहमति र बैठकहरु पहिला पनि भएकै हुन् ।’


नेपालका तर्फबाट सन् १९९५ मा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन बनेको भएपनि खासै काम अघि बढ्न सकेको छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विद्युत उत्पादन हुने देखिएको छ ।


पञ्चेश्वर आयोजना दलहरुको जहिले पनि चुनावी एजेण्डा बन्ने तर काम केही पनि नहुने आयोजना भएको स्थानीयहरुले बताएका छन् । पञ्चेश्वर हरेक चुनावमा दलहरुको एजेण्डा बन्ने गरेको भएपनि यसलाई अगाडि बढाउन कसैले पनि नसकेका स्थानीयहरुको भनाइ छ ।


पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणस्थल वरीपरीका नागरिक यो आयोजनाको काम शुरु हुनेमा आशावादी देखिएका छैनन् । ‘यो परियोजनाले भारतलाई फाइदा हुने भएपछि मात्रै अघि बढ्छ । तर अहिले नै अघि बढ्ला भन्ने मलाइ लाग्दैन्,’ पञ्चेश्वर–२ का स्थानीय परमल घटालले भने, ‘पञ्चेश्वर आयोजना चर्चाको बिषय मात्रै हुन्छ । यसमा काम हुने कुन छाँटकाँट देखिदैन ।’


नेपाल भारतका अधिकारीबीच भेट हुँदा अब पञ्चेश्वर बन्छ की भन्ने आस गर्ने कतिपय पञ्चेश्वरवासीको मन भने अहिलेपनि जिवित भने छ ।  पञ्चेश्वर–३ का तारा चन्द भन्छन्, ‘दुवै देशका सरकारहरुले बनाउछौँ भनेका छन् बनाउलान नी ।’