close

विद्यालय जान छात्रालाई सित्तैमा साइकल

विद्यालय जान छात्रालाई सित्तैमा साइकल

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बेलका नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न छात्राहरूलाई साइकल वितरण गरिएको हो । 


टाढा–टाढा घर रहेका छात्राहरूलाई विद्यालय आउन सहज बनाउने उद्देश्यले नगरपालिकाले साइकल वितरण अभियान चलाएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।

 

‘बेलका नगरपालिका वडा नम्बर ३ का कोसी माध्यमिक विद्यालयका ४५ जना छात्राहरूलाई साइकल वितरण गरेका हौँ । यसअघि गत मंसिरमा पनि १ सय ९० जना विपन्न, गरिब जेहेनदार छात्रालाई साइकल वितरण गरेका थियौँ’, नगरप्रमुख थापाले भने । 


विद्यालयको ६८ औँ वार्षिकोत्सव अवसर पारेर साइकल वितरण गरिएको हो । यो विद्यालयमा बेलकाकै सबैभन्दा बढी १ हजार १ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ४५ छात्राहरूलाई निःशुल्क साइकल वितरण, ४२ लाखको ४ कोठे भवन, पूर्वविद्यालय व्यवस्थापन समिति र पूर्वशिक्षकहरूलाई सम्मान गरिएको नगरप्रमुख थापाले जानकारी दिए ।


नगरपालिकाको वडा नम्बर ३ चिलिया टप्पुकी कक्षा ७ मा अध्ययनरत छात्रा सन्ध्या मगर साइकल वितरणपछि विद्यालयमा नियमित आउन सहज हुने बताउँछिन् । छात्राहरूले साइकल अध्ययनका अलावा अन्यत्र प्रयोग गरेको भेटिए कारबाही गर्ने नियम विद्यालयले बनाएको छ ।

 

विद्यार्थी अभावमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका कतिपय सामुदायिक विद्यालयका लागि साइकल वितरणले अध्ययनमा सहज हुनेछ ।


यस्तै, नगरको सर्सत अनुदानबाट प्राप्त ३६ लाख र २० प्रतिशत जनसहभागिता ७ लाख ७ हजार गरी ४२ लाख ७ हजार रुपैयाँको लागतमा ४ कोठे भवनको पनि शिलान्यास गरिएको छ । कार्यक्रममा नगरप्रमुख थापाले सबैको पहुँचको शिक्षा सामुदयिक विद्यालयमा मात्रै हुने बताए । 

 

साइकल वितरण कार्यक्रममा नगर उपप्रमुख राजकुमारी चौधरीले छात्राहरूले प्रयोग गर्ने स्यानेटरी प्याडको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

 

‘हरेक विद्यार्थीलाई कोरोना जोखिम हटाउन स्वास्थ्य सुरक्षा अपनाएर शिक्षण गराइरहेका छौँ । शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी योजना बनाउँदै छौँ’, प्रधानाध्यापक सूर्यनारायण साहले भने ।