close

बन्दीपुरले सुरु गर्यो डिजिटल बडापत्र

बन्दीपुरले सुरु गर्यो डिजिटल बडापत्र

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयमा डिजिटल नागरिक बडापत्र राखिएको छ । परम्परागत फ्लेक्स बोर्डमा हुने बडापत्रलाई प्रतिस्थापन गर्दै गाउँपालिका भवनमा डिजिटल बडापत्र राखिएको हो । गाउँपालिकाको सेवालाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने अभियानअन्तर्गत डिजिटल बडापत्र सञ्चालनमा ल्याएको अध्यक्ष पूर्णसिंह थापाले बताए ।

 

गाउँपालिकाले प्रदान गर्ने सेवाबारेको सम्पूर्ण जानकारी बडापत्रमा समावेश रहेको उनले जानकारी दिए । ‘सेवा प्रवाहको प्रक्रिया, लाग्ने दस्तुर, सम्बन्धित सेवा प्रदान गर्ने कर्मचारीलगायत सबै विवरण मनिटरबाट डिस्प्ले हुनेछ’, थापाले भने । सेवाग्राहीले आफूलाई आवश्यक परेको सेवाबारे डिस्प्लेमा क्लिक गरेर बुझ्न सक्ने सिस्टम बनाइएको उनले बताए ।

 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीका अनुसार बडापत्रमा सर्वसाधारणले लिने सेवासम्बन्धी गुनासा र सुझावसमेत राखिनेछ । कार्यालयका गतिविधि तथा सूचनाको अडियो÷भिडियो सुन्न र हेर्न मिल्नेछ । ‘बिहान १० बजे अटोमेटिक राष्ट्रिय गान बज्ने सिस्टम राखेका छौँ’, उनले भने । गाउँपालिकाले झन्डै ४ लाख रुपैयाँ खर्चिएर डिजिटल बडापत्र सञ्चालनमा ल्याएको हो । 

 

हाल बन्दीपुरका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य कार्यालयलाई इन्टरनेटको पहुँचमा पुर्‍याएको छ । सबै सेवा-सुविधा जनताले घरमै बसेर बुझ्न र लिन मिल्ने गरी डिजिटल प्रणालीमा रुपान्तरण गर्ने अभियानमा रहेको गाउँपालिकाले जनाएको छ ।