close

नमोबुद्धका कर्मचारीलाई तालिम

नमोबुद्धका कर्मचारीलाई तालिम

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ । तालिममा नमोबुद्ध नगरपालिकाका ३२ जना र रोशी गाउँपालिकाका ६ जना गरी ३८ जना कर्मचारीको सहभागी थिए ।

 

तालिम समापन गर्दैै नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई कर्मचारीले कार्यान्वयन गर्ने भएकाले यस्ता तालिमले त्यसमा सहयोग पुर्‍याउने बताए ।

 

विगतमा पनि समय–समयमा कर्मचारीलाई क्षमता विकासका लागि तालिम दिइएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिइने तिमल्सिनाले जानकारी दिए ।

 

उनले कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य जरुरी रहेको भन्दै त्यसले समृद्ध नगर बनाउने सपना साकार पार्न मद्दत पुग्ने बताए । ‘तालिममा नमोबुद्ध नगर र यसअन्तर्गतका कार्यालयका कर्मचारी मात्रै नभई छिमेकी रोशीकासमेत सहभागी भएका छन् । आगामी दिनमा पनि अन्य पालिकासँग यस्ता तालिममा सहकार्य गरेर अघि बढ्ने नगरपालिकाको नीति छ’, उनले भने ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिमले अध्ययनको दायरा बढाउने बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न कर्मचारीलाई आग्रह गर्दै आगामी दिनमा पनि क्षमता विकासका लागि यस्ता तालिम आयोजना गरिने जानकारी दिए ।

 

वडा नम्बर ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले तालिम लिएर सिकाइमा मात्रै सीमित नराखी त्यसलाई व्यवहारमा कार्यान्वयन गरे मात्रै प्रतिफल प्राप्त हुने धारणा राखे ।

 

समापन कार्यक्रममा तालिमका सहभागीमध्ये बलराम पौडेल र रमा विश्वकर्माले तालिम प्रभावकारी बनेको र यसले क्षमता विकासमा थप टेवा पुगेको बताए ।


सहभागीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायण अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिएका थिए ।

 

तालिम समापन अवसरमा नगर उपप्रमुख रामदेवी तामाङ, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडाध्यक्षलगायत उपस्थित थिए ।