close

द्विदेशीय सीमा बन्दको सास्ती : जुलाघाट बजारको व्यापार चौपट, पलायन हुँदै व्यापारी 

द्विदेशीय सीमा बन्दको सास्ती : जुलाघाट बजारको व्यापार चौपट, पलायन हुँदै व्यापारी 

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको भारतसँग जोडिएको सीमावर्ती जुलाघाट बजारको व्यापार ठप्प हुँदा करिब १ सय व्यापारी मर्कामा परेका छन् । वारि नेपालतर्फ जुलाघाट र पारि भारततर्फ झुलाघाट बजार रहेकामा सीमानाका नखुल्दा दुवै बजारका व्यापारीलाई समस्या भएको हो । 

 

नेपाली बजार नजिक स्कुल नहुँदा नेपाली व्यापारीका छोराछोरीले समेत भारतीय स्कुलमा अध्ययन गर्दै आएका छन् । तर, गत २०७६ चैतदेखि नेपालीका छोराछोरीले अध्ययन गर्न पाएका छैनन् । 

 

केही नेपाली व्यापारी अहिले छोराछोरीको पढाइका लागि पारि भारतमै डेरा गरेर बस्न थालेका छन् भने केही त्यहाँबाट आफ्नो पसलको मालसामान पोको पारेर अन्यत्रै सरेका छन् । 

 

१ दशकदेखि गर्दै आएको व्यापार जुलाघाटबाट अहिले गोकुलेश्वर सार्नु परेको व्यापारी तोयराज जोशीले बताए । उनले भने, ‘भारतमा हाम्रा धेरै ग्राहक थिए । हामी स्थापित भइसकेका थियौँ । छोराछोरी भारतीय स्कुलमा अध्ययन गर्थे । अहिले सबै छाडेर आउनुपर्‍यो । केटाकेटीको पढाइ बिग्रियो । यता (नेपाल) आएर पनि व्यापारबाट फाइदा होलाजस्तो देखिँदैन ।’


जुलाघाटमा व्यापार गर्दै आएका ७० प्रतिशत व्यापारी अहिले भारतको झुलाघाट बजारमा डेरा सरिसकेका छन् । छोराछोरीलाई स्कुल पठाउन भन्दै डेरा सरेको व्यापारी डम्बर जोशीले बताए । उनले भने, ‘गत चैतदेखि अहिलेसम्म १ रुपैयाँको पनि बिक्री भएको छैन । भारतीय व्यापारी पनि समस्यामै छन् । नेपालका सबै व्यापारीको बेहाल भइसकेको छ । सीमानाका आज खुल्छ, भोलि खुल्छ भन्दैमा ९ महिना बित्यो । सीमानाका बन्दा हुँदा रोजीरोटी गुमेको छ भने व्यापार व्यवसाय पनि चौपट भयो ।’ 

 

भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार सीमानाका बन्दसँगै पूर्ण रूपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए । विगतमा नेपाली सामग्री किन्न भारतको पिथौरागढबाट समेत ग्राहक आउने गरेको उनले जानकारी दिए ।

 

‘कोरोना महामारीले नाका बन्द भएपछि ग्राहक आउन छाडे । रेडिमेड कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्थे । हिउँदको सिजनमा धेरै भारतीय आउँथे । अहिले सीमा नाका बन्द भएपछि व्यवसाय पूरै चौपट अवस्थामा पुग्यो,’ उनले भने ।


सीमा नाकासँग जोडिएको झुलाघाट बजार नजिक नेपाली बस्ती नभएकाले नेपाली ग्राहक जाने गरेका छैनन् । सीमा नाका खुला भएको समय नेपाली र भारतीयको दुवै देशका बजारमा आउजाउ चल्थ्यो । तर, नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ ।


भारतीय व्यापारीको मुख्य बजार जुलालघाट भएकाले भारतीय बजार झुलाघाटसमेत सुनसान बनेको भारतीय पत्रकार प्रमोद भट्टले बताए । उनले भने, ‘सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।’ 


सीमा नाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरूले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए ।


झुलाघाट नाका खोल्ने विषयमा नेपाल सरकारले केही खुकुलो निर्णय गरे पनि भारतीय पक्षले सहमति जनाएको छैन । समान्य रूपमा आउजाउ गर्न नाका खुले पनि भारतीय पक्षले अझै नाका नखोलाएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

 

उनले भने, ‘नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । सामान्य रूपमा आउजाउका लागि नाका खोल्ने सरकारको निर्णय भए पनि यसमा भारतीय पक्ष सहमत भएको छैन ।’


लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारी पलायन भइसकेका छन् भने बचेखुचेकाले अन्यत्र सार्नुपर्ने अवस्था आएको बताउँछन् ।