close

मिक्वाखोलामा अध्यक्ष कृषि परियोजना : कृषकले ७५ प्रतिशतसम्म अनुदान पाउने

मिक्वाखोलामा अध्यक्ष कृषि परियोजना : कृषकले ७५ प्रतिशतसम्म अनुदान पाउने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष कृषि परियोजनामार्फत कृषि र पशुपक्षीजन्य वस्तुमा ७५ प्रतिशतसम्म अनुदान दिने कार्यक्रम सुरु गर्ने भएको छ । गाउँपालिकाले कृषिजन्यमा ७५ प्रतिशत र पशुपक्षीजन्य वस्तुमा ५० प्रतिशत अनुदान दिने गरी अध्यक्ष कृषि परियोजना सुरु गर्न लागेको हो ।

 

गाउँपालिकाले पशुपक्षीतर्फ बोयर बोका, कृषितर्फ घिउ फल (एबोगार्ड) र दाँते ओखर बिरुवा वितरण गर्नेछ । ‘बोयर बोकाका लागि किसानले ५० प्रतिशत अनुदान पाउनेछन् भने एबोगार्ड र दन्ते ओखरका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ’, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवीन राईले भने । 


एबोगार्ड र दन्ते ओखरका बिरुवा प्रतिघर कम्तीमा ५ र बढीमा १० वटासम्म वितरण गर्ने गाउँपालिकाको तयारी छ । अध्यक्ष कृषि परियोजनामार्फत कृषि र पशुपक्षीजन्य वस्तुको अनुदान लिनेले अध्यक्ष परियोजनाको अनुसूची १ र ३ भर्नसमेत गाउँपालिकाले पालिकाबासीलाई आग्रह गरेको छ ।


अनुसूची फाराम सम्बन्धित वडापालिकाले उपलब्ध गराउने निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले बताए । खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउन चालू आर्थिक वर्षबाट गाउँपालिकाले अध्यक्ष कृषि परियोजना सुरु गरेको हो ।


परियोजनामार्फत बोयर प्रजातिको बोका, गाउँघरमै एबोगार्ड र दन्ते ओखर उत्पादन वृद्धि गरी सुरुमा आत्मनिर्भर र पछि व्यावसायिक बनाउने अभियान सुरु गरिएको गाउँपालिकाले बताएको छ ।