close

ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास 

ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका- ७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ । 


५ शय्या क्षमताको अस्पताल भवनको प्रतिनिधिसभाका निवर्तमान सांसद भूपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलान्यास गरेका हुन् । 


कुल ७ करोड १३ लाख रुपैयाँ लागत अनुमान गरिएको अस्पताल भवनको बहुवर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई चालू आर्थिक वर्षमा ७० लाख रुपैयाँ पठाएको छ । 


६६ लाख रुपैयाँ लागत अनुमान गरिएको ४ कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्स्ट्रक्सनले ४७ लाख रुपैयाँमा ठेक्का लिएको छ । २०७८ वैशाख महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । 


बाँकी लागत गाउँपालिकाले बेहोर्ने भएको छ । शिलान्यासको अवसरमा बाजागाजासहित खुसियाली मनाएका ताकमवासीले अस्पताल भवन निर्माण हुने जग्गाका दाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो । 


वडा कार्यालयले शिलान्यास कार्यक्रमको आयोजना गरेको थियो । शिलान्यासपछि निवर्तमान सांसद थापाले सबै पालिकामा आधारभूत स्तरको अस्पताल निर्माण गर्ने सरकारको घोषणाअनुसार ताकममा अस्पताल बनाउन लागिएको बताए । थापाले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट ताकम माविलाई १० लाख रुपैयाँ विनियोजन गरेको र अस्पताल भवन संरक्षणका लागि योजना पार्न पहल गर्ने आश्वासन दिए ।

 

‘मेरो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गराउन सफल भएँ । ताकमको कोत मन्दिर पुनर्निर्माणका लागि ५० लाख विनियोजन गरेँ, विद्युतीकरण भयो’, उनले भने, ‘यस वर्ष ताकमको घना वस्ती कार्यक्रमलाई एक करोड विनियोजन भएको छ ।’


पहिरोपीडितको व्यवस्थापनका लागि आगामी हप्ताभित्र सरकारले कार्यक्रम स्वीकृत गर्ने उनको भनाइ छ । म्याग्दी नदीको पानी तानेर ताकमको उर्वरायोग्य भूमिलाई सिंचित गर्ने योजना निर्माणमा पहल गर्ने उनले बताए ।
 

जिल्ला समन्वय समिति प्रमुख केसीले तत्कालीन जिल्ला विकास समितिको कोषमा रहेका कोषबाट पहिरो प्रभावित सडक मर्मत गर्न धवलागिरि गाउँपालिकालाई ३० लाख रुपैयाँ विनियोजन गरेकामा पालिकाले आफ्नै स्रोतबाट सडक मर्मत गरेर जिससको बजेटमा साझेदारी गरेर वडा कार्यालय भवन बनाउन लागेको बताए । 


उनले जिसस र गाउँपालिकाको साझेदारीमा लुलाङमा पनि वडा कार्यालय भवन निर्माण भइरहेको जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सर्वोच्च अदालतमा विचाराधीन स्थायी केन्द्रको मुद्दालाई थाती राखेर लामो प्रयासपछि अस्पताल बनाउने ठाउँ छनोट गरी योजना कार्यान्वयन सुरु गरेको बताए । ताकममा कोरोना अस्पताल स्थापना भएको जानकारी दिँदै उपाध्यक्ष छन्त्यालले एम्बुलेन्स पनि संचालनको तयारी भएको सुनाए । 


प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले डीपीआर तयार भएको अस्पतालको भवनको बहुवर्षे ठेक्का आह्वानको तयारी भएको जानकारी दिँदै वडा कार्यालय समयमै निर्माण सम्पन्न गराउन जोड दिए ।