close

नगरपालिकाको कपास खेती प्रवर्द्धन अभियान

नगरपालिकाको कपास खेती प्रवर्द्धन अभियान

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कपास खेती प्रवर्द्धन अभियान सुरु गरेको छ । बजुबाजेको पाले सकिएसँगै संकटमा पुगेको खाडीको कपडा बुनाइलाई जोगाउन नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १० लाख रुपैयाँको कार्यक्रम ल्याएको हो ।


कपास खेती प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको नगरपालिकाले १५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ । कृषि शाखाले २२ पुसमा बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रमअन्तर्गत कपास खेतीका लागि प्रस्ताव पेस गर्न कृषि सहकारी, कृषि फार्म र कृषक समूहलाई आग्रह गरेको हो ।

 

खाडी कपडा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रवर्द्धन गर्न कपास खेतीमा लगानी गर्ने कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख विमला राईले बताइन् । ‘विनियोजित बजेट खाडीको कपडा उत्पादन गर्न प्रयोग हुने कपास उत्पादनमा खर्चिनेछ । संकटमा पुगेको पुख्र्यौली पेसा जोगाउन नगरपालिकाले यस आर्थिक वर्षमा कपास खेतीका लागि बजेट विनियोजन गरेको हो’, राईले भनिन् ।


लोपोन्मुख बनिसकेको खाडीको तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ । कपास खेती गर्ने क्षेत्र भने छनोट गर्न बाँकी रहेको उपप्रमुख राईको भनाइ छ ।


११ वडा रहेको नगरपालिकाको वडा नम्बर- ७ महादेवस्थान कात्तिकेको एउटा घरमा भने अहिले पनि कपासबाट खाडीको कपडा उत्पादन हुँदै आएको छ । कोगटी र ढ्यांग्रे कपासबाट स्थानीय जुनासरी राईले खाडीको कपडा उत्पादन गर्दै आएकी छन् । कोगटी र ढ्यांग्रे खेतीमार्फत कपास निकालेर कपडा तयार पर्ने जुनासरी वडाकै एक्ली हुन् ।

 

उनले आफ्नी नातिनीलाई सीप सिकाइसकेको वडा अध्यक्ष चइन्द्र राईले बताए । कात्तिकेमा जुनासरीसहित लीला राई, शान्ति राईलगायतले कोगटी र ढ्यांग्रे कपास खेती लगाउँदै आएका छन् ।

 

गाउँमा उत्पादित कपास जुनासरीले खरिद गर्छिन् भने त्यसैबाट कपडा तयार पारेर बिक्री गर्दै आएकी छन् । जुनासरीले कोगटीको कपास प्रतिधार्नी १ हजार र ढ्यांग्रे कपास प्रतिधार्नी ७०० रुपैयाँमा खरिद गर्दै आएकी छन् ।


कात्तिकेमा ढ्यांग्रे कपासबाट उत्पादन गरिएको दौरा-सुरुवाल पुग्ने कपडा प्रतिथान १५ हजार र कोगटीको दौरा-सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । कोगटीको कपडा माग उच्च भए पनि धान्न नसकिएको जुनासरी सुनाउँछिन् ।


वडा कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १५ जना महिलालाई कपास खेती प्रवर्द्धनका लागि १ लाख रुपैयाँ खर्चेको थियो । ‘कोगटीबाट धागो उत्पादन गर्न सबैभन्दा झन्झटिलो र बढी मिहिनेत लाग्छ’, वडा अध्यक्ष राईले भने, ‘तर, कोगटी कपडाको माग बढी छ ।’
 

नगरपालिकाले राष्ट्रिय फलफूल विकास कार्यक्रमअन्तर्गत नयाँ बहुउद्देश्यीय नर्सरी स्थापना कार्यक्रमसमेत संचालनको तयारी गरिरहेको छ ।