close

३ वर्षमा यसरी बदलियो आगोले खरानी बनाएको एउटा गाउँ

३ वर्षमा यसरी बदलियो आगोले खरानी बनाएको एउटा गाउँ

Trulli
ADVERTISEMENT

गुल्मी - आगोले ध्वस्त गुल्मी वडागाउँको दजाकोट । १८ बैशाख, २०७३ मा जंगलको आगो एक्कासी बस्ती पस्यो । एकछिनमै १ व्यक्तिसहित ५७ घरगोठ र झण्डै पाँच दर्जन पशु चौपाया खरानी भए । १७ घरमा आंशिक क्षति पुग्यो । 


आगोबाट बल्लबल्ल ज्यान जोगाएका दजाकोटबासी लामो समय बिक्षिप्त बने । त्यो मध्येकी एक हुन्, दजाकोटकी काली कुमारी गाहा । उनको घरगोठसहित १५ बाख्रा, एक हल गरु, २ भैसीसहित सवै सम्पति आँखै अघि ध्वस्त भए । सावित्रा गाहाको पनि ६ कोठे घरसँगै सवै सम्पत्ति क्षणभरमै खरानी भयो । 


झण्डै ३ बर्षको पुर्निमाणपछि आगलागीले सखाप दजाकोट चिटिक्क बनेको छ । तर, स्थानीयले झट्ट त्यो दिन बिर्सिदैनन् । ‘बाध्यताले नबिर्सनुको विकल्प छैन । तर, अझै त्यो दिनको सम्झना आउँछ,’ दजाकोटकी काली कुमारी गाहाले भनिन्, ‘ आफ्नै पौरखले जोडेका सम्पत्ति ध्वस्त भयो ।’ उनले सबै कुरा बिस्तारै जोड्दै गएपछि भुल्दै गएको बताइन् । 


गाउँमा पहिले होचा, कच्ची र खरका घर धेरै थिए । गाउँमा धेरै घर खर र कच्ची भएका कारण पनि आगोले धेरै क्षति गर्‍यो । पहिलेदेखि नै दजाकोटमा खानेपानीको संकट भएकाले आगोलागीपछि केही परिवार बिस्थापित हुने अवस्थामा पुगे । 

 

बिस्तारै पुर्निमाणले गति लियो । अहिले पूर्ण क्षति भएका ४२ र आशिंक क्षति भएका ९ वटा भुकम्परहित पक्की घर तीन किसिममा निर्माण भएका छन् । दजाकोटमा क्षति भएका घरको पुर्निमाणसँगै झण्डै २ करोडको लागतमा लिफ्ट सिस्टमबाट घरघरमा खानेपानीका धारा जोडिएको छ । आगोले गाउँ नै ध्वस्त भएपछि नागरिक बिक्षिप्त थिए । 


पिउने पानी समेत नहुँदा विस्थापित हुने मानसिकतामा पुगेका परिवारलाई सुरक्षति घर र खानेपानी पाएपछि खुसी मिलेको मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलले बताए । गुल्मी जिल्लाकै इतिहासमा आगलागीबाट सवैभन्दा ठुलो क्षति दजाकोटमा भएको थियोे ।


स्वदेश तथा बिदेशबाट राम्रै सहयोग संकलन पनि भयो । जुन सहयोगबाट पुर्निमाणको काम सकिएको छ भने अग्नी स्मृति स्मारक र अकलादेवीको मन्दिर निर्माणको काम बाँकी रहेको छन्तेलले जानकारी दिए । 


मुसिकोट नगरपालिकाले वडागाउँ दजाकोटलाई होमस्टेका रुपमा अघि बढाउने योजना बनाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । उनले आफुहरु पुर्निमाणमा प्रति घर एक लाख सहयोग गरेको बताउँदै खानेपानीको पहुँच पनि स्थापित गरेकाले होमस्टे, पशुपालन र कृषि मार्फत दजाकोटबासीलाई आर्थिक रुपमा पनि अघि लैजाने बताए । 


दाजकोटमा पहिले अस्थायी मुलबाट ६ महिना मात्रै पानी पुग्थ्यो । दजाकोटबासीलाई हिउँदभर पानीका लागि खोल्सा र पँधेरा पुग्नुपर्ने बाध्यता थियो । स्थानीयले खानेपानीको चरम संकट हुँदा प्रति लिटर २ रुपैयाँमा टयाक्टरमा पानी बोकेर पनि खाए । 


प्रर्याप्त खानेपानी नभएकै कारण आगलागीको ठुलो क्षति व्यर्होनु पर्‍यो । तर, अहिले सवैको घरघरमा पानीका धारा छन् । डेढ वर्ष पहिलेसम्म उज्यालो नहुँदै पानी बोक्न पधेँरा जानुपर्ने बाध्यताले जीन्दगी निकै कष्टपूर्ण रहेको स्थानीय ७३ बर्षीया राजमााया पुनले स्मरण गरिन् ।  अहिले घरघरमै पानी आउँदा सपना जस्तै लागेको पुनको भनाई छ । भग्लामगैरा–दजाकोट लिफ्ट खानेपानी तथा सरसफाइ योजना मार्फत एक सय १८ घरमा एक घर एक धारा संचालन भएका छन् । 


६५ हजारका २ वटा र १ लाख लिटरका एउटा ट्यांकी निर्माण गरेर खानेपानीको व्यावस्थापन गरिएको निर्माण समिति अध्यक्ष देब बहादुर दर्लामीले जानकारी दिए । 


पहिले स्थानीयले अस्थायी पधेरा व्लाङ्दी, खोलाङ्दी र धारापानी लगायतका ठाउँबाट खानेपानी ल्याउने गर्थे । प्रति घर ७० दिन श्रमदान र १० हजार, ६५ लाख पुर्व सांसद गोकर्ण बिष्टको स्थानीय पुर्वाधार अन्तरगत र ९० लाख प्रदेश सरकारबाट गरेर झण्डै २ करोडको लागतमा खानेपानी योजना निर्माण भएको दर्लामीले बताए । 


पानी आएपछि स्थानीयको दैनिकै फेरिएको छ । पहिले काकाकुल जस्तै बनेका स्थानीयले अहिले घर नजिक तरकारी खेती गर्ने, सरसरफाईमा ध्यान दिने मात्र होइन पानी बोक्ने समय अन्यत्रै लगाउन थालेको स्थानीय ज्योति घर्ती गाहाले बताइन् ।