close

गाउँ गाउँमै उत्पादन हुन थाले इञ्जिनियर (भिडियो खबर) 

गाउँ गाउँमै उत्पादन हुन थाले इञ्जिनियर (भिडियो खबर) 

ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकमका आयुश आचार्यको इलेक्ट्रिकल इञ्जिनियरिङ विषय पढ्ने सानैदेखिको रुचि र इच्छा थियो । गाउँकै विद्यालयमा आफुले चाहेको विषयमा पढाइ सुरु भएपछि आचार्य उत्साहित 
छन् । 
 
‘इलेक्ट्रिकल पढ्ने मेरो सानै देखिको रुचि थियो,’ उनले भने, ‘गाउँकै स्कुलमा घरमै बसेर पढ्न पाउँदा खुसी लागेको छ ।’ प्राविधिक विषय पढ्न घर छाडेर जानुपर्ने बाध्यता हटेकोमा कक्षा ९ की छात्रा आयुशा हर्मेलले खुसी ब्यक्त गरिन् । यसअघि इलेक्ट्रिकल इञ्जिनियरिङ पढ्न म्याग्दीको नारच्याङस्थित प्रभा मावि, पोखरा, बुटवल, काठमाडौ र चितवन जानुपर्ने थियो । 


ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरिङको पठनपाठन सुरु भएपछि सो विषयमा रुचि राख्ने विद्यार्थीहरुको सपना साकार भएको छ । दुर्गम क्षेत्रका विद्यार्थीहरुले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् । 

 

शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । इलेक्ट्रिकल इञ्जिनियरिङ जलविद्युत र विद्युत आयोजनासँग सम्बन्धित छ । यो विषय ब्यवहारिक र रोजगारमुलक हो ।

 

कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनियरिङ पढ्न पाउछन् । नेपाली, अंग्रेजी, गणीत र विज्ञान विषय साधारण कक्षा सरहकै हुन्छ । 

 

साधारणका अलावा इलेक्ट्रिकल इञ्जिनियरिङ, बेसिक इलेक्ट्रोनिक, इलेक्ट्रिकल एप्लिकेशन एण्ड मेन्टिनेन्स, इन्जिनियरिङ ड्रोइङ, कम्प्युटर एप्लिकेशन र वर्कसप टेक्नोलोजी विषयको पनि पठनपाठन हुने गरेको छ । ४८ जनाको कोटा भएको इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनका लागि कक्षा ९ मा २२ जना भर्ना भएका पधानअध्यापक ओमकार पौडेलले बताए ।  


‘कोरोना महामारीको जोखिमका कारण यस वर्ष पालिका बाहिरका विद्यार्थी आउन सकेनन्,’ उनले भने, ‘अर्को बर्ष छिमेकी पालिका र जिल्लाका विद्यार्थीलाई पनि भर्ना गराउन पहल गरेका छौं ।’


कक्षा ११ उत्तिर्ण गरेपछि डिप्लोमा इन इञ्जिनियरिङ सरह र १० उत्तिर्ण गर्नेले टेक्निसियन सरहको योग्यता पाउँछन् । शिक्षा मन्त्रालयले यस वर्ष एक जना प्रशिक्षक र एक जना सहायक प्रशिक्षकको दरवन्दी उपलब्ध गराएको छ । प्रति कक्षा २ जनाको दरले प्रशिक्षक र सहायक प्रशिक्षकको दरवन्दी उपलब्ध गराउने नीति छ । 


धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकम माविलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्ने योजना बनाएको बताए । प्रदेश र संघ सरकारसँग समन्वय गरेर छात्रावास, प्रयोगशाला र कक्षाकोठा भवन लगायत पूर्र्वाधार निर्माण सुरु गरेको उनले बताए । 


प्राविधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार तयार पारेको छ । २०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थाई स्वीकृति पाएको छ । स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापाले बताए ।