close

नगरप्रमुखले सेनालाई बुझाए खुँडा र तरबार 

नगरप्रमुखले सेनालाई बुझाए खुँडा र तरबार 

Trulli
ADVERTISEMENT

सिन्धुली- कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले खुँडा र तरबार सेनालाई हस्तान्तरण गरेका छन् । सिन्धुलीगढी परिसरमा अंग्रेज फौजसँगको लडाइँमा पुर्खाले प्रयोग गरेका हतियार संकलन गरी सेनालाई बुझाइएको हो ।


आइतबार नगरप्रमुख खत्रीले ९ नम्बर बाहिनी सिन्धुलीका बाहिनीपति ध्रुव शाहलाई २ थान भाले खुँडा र एउटा तरबार हस्तान्तरण गरेका हुन् । खत्रीको घरमा रहेको एक थान भाले खुँडा र तरबार तथा कमलामाई नगरपालिका- २ का हरि थापाको घरमा रहेको एउटा भाले खुँडा आज बाहिनीपति शाहलाई प्रमुख खत्रीले आफ्नै घरबाट जिम्मा लगाएका हुन् ।


खत्रीले युद्धमा प्रयोग भएका घरेलु हतियार संकलन गर्ने काम भइरहेको बताए । उक्त हतियार संकलन गरी सिन्धुलीगढी युद्ध संग्रहालयमा ३ पुस्ते विवरणसहित राखिने बताए । यदि नगरवासीको घरमा रहेका यस्ता हतियारहरू स्वेच्छाले दिन नचाहेर बिक्री गर्न चाहेमा नगरपालिकाले खरिद गरिदिनेसमेत उनले बताए ।


९ नम्बर बाहिनीका बाहिनीपति शाहले युद्धका समयमा प्रयोग भएका युद्धसँग सम्बन्धित सामग्रीहरूको संकलन कार्य जारी रहेको बताए । हालसम्म ७ वटा खुँडा, खुकुरी र एउटा धनुकाण फेला परेको बताए । सेनाले यस्ता हतियारहरूको विवरण संकलन गर्दै खोजी कार्य जारी राखेको उनको भनाइ छ । 


संकलित हतियारहरू सिन्धुलीगढी युद्ध संग्रहालयमा राखिनेसमेत उनको भनाइ छ । संग्रहालयको निर्माण कार्य अन्तिम चरण पुगेको समेत उनले जानकारी दिए ।