close

३६ विद्यालयमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम

३६ विद्यालयमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले पुमा राई र वान्तवा राई भाषामा पठनपाठन सुरु गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्थाअनुसार जन्तेढुंगा गाउँपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय भाषाको पाठ्यक्रमअन्तर्गत ३६ वटा विद्यालयमा पुमा र वान्तवा भाषामा पठनपाठन सुरु गरेको हो । 


स्थानीय सरकार संचालन ऐनमा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले १८ वटा विद्यालयमा प्राथमिक तह (कक्षा १ देखि ५)सम्म पुमा भाषामा तथा १८ वटा विद्यालयमा वान्तवा भाषामा पठनपाठन सुरु गरेको गाउँपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष विदुरमान राईले बताए । 


जन्तेढुंगा गाउँपालिका- १ देवीस्थान, जन्तेढुंगा गाउँपालिका-५ चिसापानी र जन्तेढुंगा गाउँपालिका- ६ दिप्लुङमा पुमा तथा जन्तेढुंगा गाउँपालिका- २ बोपुङ, जन्तेढुंगा गाउँपालिका- ३ काहुले र जन्तेढुंगा गाउँपालिका- ४ डम्बर्खु शिवालयका प्राथमिक तहमा वान्तवा भाषामा पठनपाठन सुरु गरिएको हो । 


गाउँकार्यपालिकाको गत २५ मंसिरको बैठकले प्राथमिक तहमा स्थानीय भाषाको पाठ्यक्रम लागू गर्ने तथा पुमा भाषाको पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो । विद्यालयमा ६० प्रतिशत पुमा र वान्तवा भाषा बोल्ने विद्यार्थी अध्ययनरत रहेको तथ्यांकका आधारमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पाण्डेले बताए । 


जन्तेढुंगा गाउँपालिका- १ देवीस्थानस्थित शिक्षा निकेतन औतारी मावि, शिक्षा ज्योति मावि देवीस्थान चौतारा, सावित्रा आधारभूत विद्यालय पुङ्खानी, शिक्षा सदन जनता आधारभूत विद्यालय र पञ्चकन्या आधारभुत विद्यालयमा पुमा भाषाको पठनपाठन सुरु गरिएको छ । 


यस्तै, जन्तेढुंगा गाउँपालिका- ५ चिसापानीस्थित चिसापानी मावि, बालोदय आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय, जनबहुमुखी प्रावि घोर्ले, पृथ्वी प्रावि, सरस्वती प्रावि, सिंहदेवी प्रावि र बालसेवा आधारभूत विद्यालयमा पुमा भाषाको पाठ्यक्रम लागू गरिएको छ । 


यसरी नै जन्तेढुंगा गाउँपालिका- ६ दिप्लुङस्थित भानु आधारभूत विद्यालय, पैयाँटार आधारभूत विद्यालय, पृथ्वी आधारभूत विद्यालय, बुढाभैरुङ आधारभुत विद्यालय र सिद्धेश्वरी आधारभुत विद्यालयमा पुमा भाषामा पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख पाण्डेले बताए । 


शिक्षा शाखाका अनुसार जन्तेढुंगा गाउँपालिका- २ बोपुङस्थित सिंहदेवी मावि, जनज्योति आधारभूत विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय, विजय आधारभूत विद्यालय, शारदा आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय, सिर्जनात्मक आधारभूत विद्यालय र कन्यछाँगा आधारभूत विद्यालयमा वान्तवा भाषाको पढाइ सुरु गरिएको छ । 


यस्तै, जन्तेढुंगा गाउँपालिका- ३ काहुलेस्थित लक्ष्मी मावि, जलेश्वरी आधारभूत विद्यालय, आकाशदेवी आधारभूत विद्यालय, सिद्धेश्वरी आधारभूत विद्यालय, जन्तेढुंगा गाउँपालिका- ४ डम्बर्खु शिवालयस्थित जलेश्वरी मावि, विश्वज्योति आधारभूत विद्यालय, महेन्द्रज्योति आधारभूत विद्यालय, जालपादेवी आधारभूत विद्यालय र पञ्चकन्या आधारभूत विद्यालयमा पनि वान्तवा भाषाको पाठ्क्रम लागू गरिएको जनाइएको छ ।