close

पोष्ट मार्टममा बेनी अस्पतालको भौगोलिक बिभेद 

पोष्ट मार्टममा बेनी अस्पतालको भौगोलिक बिभेद 

Trulli
ADVERTISEMENT

म्याग्दी- बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शवको पोस्टमार्टम गर्न छाडेपछि पीडामाथि पीडा भएको छ । 


दुर्घटना, विपद्, आत्महत्याका कारण ज्यान गुमाएकाको शव नजिकैको बेनी अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि कुस्मा लैजाँदा सास्ती, झन्झट र दुःख भएको छ । 


गत बिहीबार म्याग्दीको बेनीसँगैको पर्वत बेनीमा बस्ने २३ वर्षीया युवतीले आत्महत्या गरिन् । करिब ८ बजे पर्वत बेनीबाट बेनी अस्पताल ल्याइएको शव परीक्षणका लागि २ घण्टासम्म गाडीमै राखियो । अस्पतालका चिकित्सकले बेजिल्लाको शव परीक्षण नगर्ने अडान लिएपछि अन्ततः राती १० बजे गाडी खोजेर कुस्मास्थित पर्वत अस्पतालमा पठाइएको थियो । 


आर्थिक रूपमा विपन्न ती युवतीका आफन्तहरूले कुस्मामा परीक्षण गराएपछि शुक्रबार वारि बेनीस्थित कालीगण्डकी किनारको घाटमा दाहसंस्कार गरेका थिए । 


पछिल्लो समय सिमाना जोडिएको बेनी अस्पतालले जलजलाको शव परीक्षण गर्न नमानेपछि मृतकका परिवार र आफन्तलाई पीडामाथि पीडा भएको वारि बेनीका दिलीप बरुवालले बताए ।  


‘बेनीमै पोस्टमार्टम गर्दा नजिकै भएकाले सबैलाई सजिलो भएको थियो’, उनले भने, ‘शव बोकेर कुस्मा पुर्‍याउँदा धेरै सास्ती र दुःख भएको छ ।’ शव बोक्ने गाडी नपाउने, बढी भाडा तिर्नुपर्ने समस्या स्थानीयलाई छ । 


जलजला गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दालाई कुस्मास्थित पर्वत अस्पतालभन्दा म्याग्दीको बेनी अस्पताल नजिक पर्छ । फरक जिल्ला भए पनि मल्लाज र बेनीको व्यापारिक, आर्थिक, सामाजिक सम्बन्ध एकै जिल्ला सरहको छ ।


वार्षिक रूपमा १० वटाको हाराहारीमा मल्लाज क्षेत्रका शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याउने गरेका छन् । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गएकाको कानुनी प्रक्रिया पूरा गर्नका लागि शवको परीक्षण गर्नुपर्ने नियम छ । 


शवको पोस्टमार्टम गर्नेजस्तो मानवीय संवेदना जोडिएको विषयमा बेनी अस्पतालले बेजिल्लाको वहानामा विभेद गर्न थालेकामा जलजलाका बासिन्दाहरूले गुनासो गरेका छन् । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अव्यावहारिक कानुनी प्रक्रियाका कारण बेजिल्लाको शव परीक्षण गर्न चिकित्सक पछि हटेका बताए ।  


‘जनताका लागि सजिलो र छिटो सुविधा होस् भनेर बेजिल्ला भए पनि मल्लाज क्षेत्रको शव बेनी अस्पतालमै पोस्टमार्टम हुन्थ्यो’, उनले भने, ‘बेजिल्लाको अदालतमा बयान दिन जान झन्झट हुने र भ्रमण खर्च नपाउने भएकाले पछि हटेका हुन् ।’ 


जलजला गाउँकार्यपालिकाको प्रवक्तासमेत रहेका वडा नं.- ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवि)ले बेनी अस्पतालले शव परीक्षण गर्न नमानेपछि नागरिकले दुःख र सास्ती पाएको गुनासो बढेको बताए । जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधान गर्न पहल गरिएको उनको भनाइ छ ।