close

बिजुली देख्दा मछेटीका जनता दंग (भिडियो खबर) 

बिजुली देख्दा मछेटीका जनता दंग (भिडियो खबर) 

ADVERTISEMENT

कञ्चनपुर- अहिले पनि गाउँगाउँमा विद्युत् पुगेको छैन भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । तर, कञ्चनपुरमा कुल जनसंख्याको २० प्रतिशतमा विद्युत् पुग्न सकेको छैन ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिकाको खल्ला मछेटी गाउँमा पहिलो पटक विद्युत् पुगेको छ । बस्ती बसेको दुई दशकसम्म दुर्गम मानिने यो गाउँमा विद्युत् पुगेसँगै स्थानीय हर्षित भएका छन् । 


विकट हुनुको कारण बाटोघाटो र विद्युत् तथा सञ्चार, स्वास्थ्यलगायत आधारभूत सुविधाबाट वञ्चित रहेका मछेटीबासीलाई झलमल्ल बत्तीसँगै मुहारमा पनि खुसी छाएको छ । 

 

नेपाल विद्युत् प्राधिकरण र भीमदत्त नगरको साझेदारीमा विद्युत् सेवा सञ्चालनमा ल्याइएको हो । विद्युत् नहुदा अँध्यारोमै बस्नु परेको, कुटानी पिसानी तथा सिँचाइ र खानेपानीको समेत समस्या बेहोर्दे आएका स्थानीय विद्युत् पुगेपछि हर्षित देखिन्छन् ।


गत वर्ष मात्रै नगरपालिकाको पहलमा विद्युत् लाइन विस्तार र नेपाल दूरसञ्चारले टावर निर्माण गरेको थियो । विद्युत् सेवा सञ्चालनमा भने आउन सकेको थिएन ।

 

खानेपानीका लागी समेत समस्या झेल्दै आएका बासिन्दा महाकाली नदीको पानी खान बाध्य हुँदै आएका थिए । अब त्यो समस्या टरेको छ भने कृषि पेसा गर्न पनि सहज हुँदै गएको छ । 


सुगम नगरपालिकाको दुर्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रलाई अझै पनि विकासको खाँचो छ । दुर्गम क्षेत्रलाई सुगम बनाउने गरी वडा कार्यालयले थप विकासका योजना अघि सारेको छ । 

 

३ सय १० घर धुरी रहेको खल्ला-मच्छेटी क्षेत्रमा ४० घरधुरी परिवार दलित समुदायका छन् । न्यून आय स्तर रहेका यस क्षेत्रका अधिकांश वासिन्दा ज्याला मजदुरीमै निर्भर छन् । वर्षौंदेखि बस्दै र कमाउँदै आएको जग्गाको जग्गाधनी पुर्जासमेत पाएका छैनन् ।

 

'उज्यालो नेपाल : उज्यालो भीमदत्त'को नारा लिएको नगरपालिकाले यस क्षेत्रमा गत वर्ष विद्युत् लाइन विस्तारको पहल गरेको थियो । नगरपालिकाकै साझेदारी र सहकार्यमा विद्युत सेवा सञ्चालनको काम पूरा भएको हो ।

 

जग्गाको आधिकारिक मालिक बनाउने कार्यका लागि भीमदत्तले ठोस कदम चालेको र भूमि समस्यासम्बन्धी आयोगमार्फत समस्या समाधान गरिने बताएको छ । 

 

ढिलै भए पनि नगरपालिकाको ठोस नीति र पहल कदमीका कारण जिल्लाकै दुर्गम बस्ती विस्तारै पूर्वाधारसँग जोडिन थालेको छ ।