close

सिन्धुलीगढीमा बन्ने भयो ऐतिहासिक युद्ध संग्रहालय (भिडियाे खबर)

सिन्धुलीगढीमा बन्ने भयो ऐतिहासिक युद्ध संग्रहालय (भिडियाे खबर)

ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढी किल्लाले नेपालमा ऐतिहासिक घटना र इतिहास बोकेको छ । १८२४ सालमा आधुनिक हतियारसहित नेपाली भूमि कब्जा गर्न आएको अंग्रेज फौजलाई नेपालीले घरेलु हतियारका माध्यमबाट हराएका थिए । 

 

अहिले सोही हतियारलाई युद्ध संग्रहालयमा राख्ने गरी कमलामाई नगरपालिकाले अभियान चलाएको छ भने हतियारको खोजी पनि भइरहेको छ । 

 

भारत-चीनबीचको छोटो नाकाको रूपमा चिनिने सिन्धुलीलाई अंग्रेजले कब्जा जमाउन १८२४ सालमा नेपाल प्रवेश गरेका थिए । तर, सिन्धुलीगढीबाट तत्कालीन किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई बहादुरीपूर्वक लडेर परास्त गरिएको थियो ।

 

आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई घरेलु हतियारको सहायताबाट नेपालले परास्त गर्‍यो । सोही ठाउँमा अहिले युद्ध संग्रहालय बनाउने योजनाअनुरूप त्यस समयका ऐतिहासिक घरेलु हतियार संकलन गर्न नगरपालिकाले चासो देखाएको छ ।

 

पुर्खाको मायाको चिनोका रूपमा घरमा राख्दै आएका घरेलु हतियारलाई स्थानीयले युद्ध संग्रहालयमा राख्ने सर्तमा बुझाउँदै आएको कमलामाई नगरप्रमुख खड्गबहादुर खत्री, बताउँछन् । सिन्धुलीगढीमा निर्माणाधीन युद्ध संग्रहालयको निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

 
युद्धको समय प्रयोग भएका घरेलु हतियार पुर्खाको मायाको चिनोका रूपमा राख्नु र धार्मिक कार्यमा शक्तिको रूपमा पूजा गर्दा संकलन गर्न चुनौती थपिएको छ । कमलामाई नगरपालिका र नेपाली सेनाले यस्ता हतियार किनेरै भए पनि संग्रहालयमा राख्ने प्रक्रिया सुरु गरेको सिन्धुलीस्थित नेपाली सेनाको ९ नम्बर वाहिनीका वाहिनीपति ध्रुव शाहले बताए ।
। 


तत्कालीन युद्धमा ढाल, तरबार, खुँडा, घुएँत्रो, गुलेली, धनुकाणलगायतका घरेलु हतियार प्रयोग भएका थिए । नेपाली वीर पुर्खाले साम्राज्यवादी अंग्रेज फौजले विश्वमा आफ्नो साम्राज्य कायम गदै हिँड्दा पहिलो पटक १८२४ सालमा सिन्धुलीबाट परास्त गर्दै नेपालले आफ्नो बहादुरी प्रस्तुत गरेको सिन्धुलीस्थित अन्वेषणकर्ता सागरकुमार ढकाल सुनाउँछन् ।

 

यस्ता, स्थललाई जीवन्त दिन सरोकारवाला निकाय, स्थानीय सरकारसँगै नागरिक पनि जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनको सुझाव छ ।